arin enterprises

संघीयतामा स्थानीय सरकारलाई नै सक्रिय बनाउनुपर्ने मन्त्री श्रेष्ठको भनाई

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ पौष १, बिहिबार

संघीय मामिला तथा सामान्य प्रशानस मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले नेपाल संघीय शासन प्रणालीको प्रारम्भिक अभ्यासमा रहेकोले स्थानीय तहको नेतृत्व स्थानीय सरकारबाट नै हुनुपर्नेमा जोड दिनुभएको छ ।

२७ औं महानगर दिवसको अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले देशमा संघीयता लागू भइसकेको अवस्थामा केन्द्रीय शासन प्रणालीबाट माथि उठ्नुपर्नेमा जोड दिनुभयो ।

‘अब स्थानीय तहलाई स्थानीय सरकारले र प्रदेशलाई प्रदेश सरकारले नै चलाउनुपर्छ, अहिले पनि केन्द्रीय सरकारबाटै पुरै देश चलाइरहनु आवश्यक छैन’ मन्त्री श्रेष्ठको भनाई हो ।

काठमाडौं उपत्यकाको लागि आवश्यक योजना उपत्यका विकास प्राधीकरणले भन्दा यहाँको स्थानीय र प्रदेश सरकारबाट नै हुनुपर्ने विचार उहाँले राख्नुभयो ।

‘यहाँ वागतमी प्रदेश सरकार छ, काठमाडौं महानगरपालिकासँगै अरु स्थानीय सरकारहरु पनि छन् । उपत्यकाको विकासको लागि अब उपत्यका विकास प्राधीकरणको आवश्यकता छैन’ मन्त्री श्रेष्ठले भन्नुभयो । कार्यक्रममा सानुकुमार श्रेष्ठले स्थानीय भाषा, कला, साहित्य र सिर्जनाका लागि महानगरले धेरै काम गरेको उल्लेख गर्दै नेपालभाषाको स्थानीय पाठ्यक्रम तयार पारेर पाठ्पुस्तक कार्यान्वयनमा ल्याउनुलाई ठूलो उपलब्धी मान्नुपर्ने भन्नुभयो ।

त्यसैगरी महानगर प्रमुख विद्यासुन्दर शाक्यले संघ र प्रदेश सरकारले महानगरका योजनामा सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले आआफ्नो विचार राखेका थिए ।

Categorized in राष्ट्रिय