भक्तपुरको ताथलीमा भेटियो नयाँ चट्टान अभिलेख
SamacharDesk – आभास धरानन्द राजोपाध्याय | २०७८ पौष २२, बिहिबार

चाँगुनारायण नगरपालिका–९ को ताथलीमा नयाँ चट्टान अभिलेख आज भेटिएको इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले जनाएका छन् ।
“ताथलीमा एक दशकअघि भेटिएका चट्टान अभिलेखको स्थानमा आज अर्कै नयाँ चट्टान अभिलेख पाइएको छ,” डा. श्रेष्ठले समाचारडेस्कसँग कुराकानीका क्रममा जनाए, “त्यसमा कुँदिएका अक्षर चाहिँ पढ्न नसकिने भएको छ, तर त्यसमा कुँदिएको दाग भने बाँकी छ ।”
नयाँ चट्टान अभिलेख ताथलीस्थित हलल गाउँ, नालाछापमा पाइएको हो ।
“एक दशकअघि ख्वप कलेजका विद्यार्थीहरूसँग शैक्षिक भ्रमणमा जाँदा त्यहाँ थुप्रै चट्टान अभिलेख पाएको थिएँ,” डा. श्रेष्ठले फेसबुकमा पोस्ट गरेका छन्, “यसै क्रममा आज पुनः त्यहाँ भ्रमणमा जाँदा ख्वप कलेजका विद्यार्थी राजेश गाइँजूले उक्त अभिलेखको जानकारी दिएका हुन् ।”
सो क्षेत्रमा जगर्ज्योति मल्ल, जितामित्र मल्ल र भूपतिन्द्र मल्लसम्मका चट्टान अभिलेख रहेका छन् । यसले तत्कालीन नेपाल मण्डलभित्र प्रवेश गर्ने विन्दु यो स्थान पनि भएको प्रमाणित गर्ने डा. श्रेष्ठको दाबी छ । अन्य प्रवेशविन्दुमा पनि यस्तै चट्टान अभिलेख पाउने सम्भावना रहेको पनि उनले औँल्याएका छन् ।
फोटो सौजन्य – डा. पुरुषोत्तमलोचन श्रेष्ठको फेसबुक पोस्टबाट
Categorized in राष्ट्रिय