मछिन्द्रको च्यासलमाथि सहज जित
SamacharDesk – Ram Dangol | २०७८ माघ २९, शनिबार

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा मछिन्द्रले पुछारको च्यासल युथ क्लबलाई २–० गोल अन्तरले हराएको हो । मछिन्द्रलाई जित दिलाउन विमल घर्तिमगर र सुनिल बलले एक–एक गोल गरे । जितसँगै मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ । च्यासल १० खेलमा ५ अंक जोडेर पुछारमा रहेको छ ।
शनिबारै भएको अर्को खेलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ । सातदोबाटोस्थित एन्फा कप्लेक्समा सातदोबाटोले पुलिसलाई १–० गोल अन्तरले हराएको हो ।
सातदोबाटोलाई जित दिलाउन आकाश बुढा मगरले निर्णायक गोल गरे । यससँगै नवप्रवेशी क्लब सातदोबाटोले पुलिसमाथि पहिलो भेटमै जित निकाल्न सफल भएको छ । यस जितसँगै सातदोबाटोले १० खेलमा १५ अंक जोडेको छ । पुलिसले १० खेलमा १० अंक जोडेको छ ।
