arin enterprises

मच्छिन्द्र दोस्रो पटक शहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ४, बुधबार

मच्छिन्द्र क्लबले दुई खेल अगावै ११औं चरणको शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको छ । 

दशरथ रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्रले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोलले हरायो ।

मच्छिन्दका अजरबैजानका खेलाडी नोर्लान नोभरुजोभले ५३ औँ मिनेटमा निर्णायक गोल गरेर  मछिन्द्रलाई जित दिलाउन सफल भएको छ । नोर्लानले सातदोबाटोका गोलरक्षक अभिषेक बरालले फर्काएको बलमा गोललाइन नजिकबाट जाली चुमाउनुभएको थियो । ‘म्यान अफ दि म्याच’ बन्नुभएका नोर्लानले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

काठमाडौँको मध्यकेन्द्र जनबहालको मच्छिन्द्रले यसअघि २०७६ मा पहिलोपल्ट ‘ए’ डिभिजन उपाधि जितेको थियो । मच्छिन्द्र शीर्ष डिभिजन लिग जित्ने १६औँ टोली हो । जाइन्ट क्लबको छवि बनाएको नवप्रवेशी सातदोबाटोले पनि राम्रा अवसर गुमाएको थियो ।

जितसँगै मच्छिन्द्रले २९ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दीको २० अंक छ । पराजित सातदोबाटो १५ अंकसहित छैटौँ स्थानमा छ । लिग च्याम्पियन मच्छिन्द्रले यसअघि सातौँ चरणको खेलमा शीर्ष स्थानमा रहँदै एएफसी कप खेल्ने मौका समेत पाएको छ ।

च्याम्पियन मच्छिन्द्रले लिगमा अब थ्रीस्टार र एपिएफ क्लबसँग खेल्न बाँकी छ । मच्छिन्द्रले ११औँ चरणसम्म आफ्नो अपराजित यात्रालाई समेत कायम राखेको छ । उपाधिसँगै मच्छिन्द्रले ७५ लाख रुपियाँ पुरस्कार सुनिश्चित गरेको छ ।

Categorized in स्पाेर्ट्स