ह्यारी केनको दुई गोलबाट टोटनह्यामको जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण ८, आइतबार

इङ्लिस प्रिमियर लिगमा ह्यारी केनको दुई गोलबाट टोटनह्यामले म्यानचेस्टर सिटिलाई हराएको छ ।
शनिबार राति भएको खेलमा टोटनह्यामले शीर्ष टोली म्यानचेस्टर सिटीलाई ३–२ गोलले हराएको हो ।
खेलको ४औँ मिनेटमा डेजान कुलुभ्सिकीको गोलबाट टोटनह्यामले अग्रता लिएको थियो । ३३औं मिनेटमा एल्के गुन्डोगानले सिटीको लागि गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकेको थियो ।
दोस्रो हाफको ५९औँ मिनेटमा ह्यारी केनले गोल गर्दै टोटनह्यामलाई पुनः अग्रता दिलाए ।
त्यस्तै इन्जुरी समयको दोस्रो मिनेटमा रियाद महारेजले सिटीले पाएको पेनाल्टीलाई सदुपयोग गर्दा खेल २–२ गोलको बराबरीमा आएको थियो ।
तर, इन्जुरी समयको दोस्रो मिनेटमा केनले आफ्नो व्यक्तिगत दोस्रो गोल गरेपछि टोटनह्यामले ३–२ गोलले खेल आफ्नो पोल्टामा पारेको थियो ।
गत अक्टोबरमा क्रिस्टल प्यालेससँग २–० ले पराजित भएपछि यो सिटीको प्रिमियर लिगमा पहिलो हार हो ।
सिटी २६ खेलमा ६३ अंकसहित शीर्ष स्थानमा यथावत छ । दोस्रो स्थानको लिभरपुलको २५ खेलमा ५७ अंक छ ।
त्यस्तै टोटनह्याम २३ खेलमा ३९ अंक बतुल्दै सातौँ स्थानमा छ ।
Categorized in स्पाेर्ट्स
