arin enterprises

अन्ततः संसदबाट एमसीसी पारित

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण १५, आइतबार

काठमाडौं । लामो समयको विवाद र किचलोपछि अन्ततः बहचर्चित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएको छ । 

प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो ।

व्याख्यात्मक टिप्पणीमा एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, त्यसलाई विशुद्ध आर्थिक तथा विकास परियोजनाको रुपमा मात्रै लिने, नेपालकै संविधान सर्वोपरि हुने लगायतका विषय छन् । त्यस्तै आर्थिक सहायतको रुपमा स्वीकार गर्ने तर कुनैपनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा नबाँधिएको घोषणा गरेको छ ।

नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निणयार्थ पेश गरेका थिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरुले एमसीसीको पक्षमा ध्वनि मत प्रकट गरे । राष्ट्रिय जनमोर्चा, राप्रपा, नेमकिपा लगायतका दलले भने विपक्षमा ध्वनि मत दिएका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने वेल घेराउमै रहेको थियो ।

एमसीसी सम्झौताप्रति असन्तुष्ट सत्तारुढ गठबन्धनकै केही सांसदले बैठक बहिस्कार गरेका थिए । एमसीसी पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमा देखिएको विवाद चिर्दै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेका थिए ।

Categorized in राष्ट्रिय