arin enterprises

फिफाद्वारा रूसी क्लब र राष्ट्रिय फुटबल टोलीमाथि प्रतिबन्ध

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण १७, मंगलबार

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले र युरोपेली फुटबल महासंघ (यूईएफए)ले रूसका सबै क्लब र राष्ट्रिय फुटबल टोलीमाथि प्रतिबन्ध लगाएको छ ।

रूसले युक्रेनमाथि गरिरहेको आक्रमणको विरोधमा फिफा र युईएफएले अर्को सूचना जारी नभएसम्मका लागि यस्तो प्रतिबन्ध लगाएका हो ।

फिफा र यूईएफएले संयुक्त विज्ञप्ति जारी गर्दै अहिले फुटबल पूर्णरुपमा संगठित रहेको र युक्रेनका मानिसहरुप्रति आफ्नो पूर्ण ऐक्यबद्धता रहेको उल्लेख गरेको छ ।

गत आइतबार मात्र फिफाले रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तराष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको थियो ।

तर अधिकांश युरोपेली राष्ट्रले यो निर्णयको आलोचना गरेपछि फुटबलका यी दुइृ महासंघले आफू अन्तर्गतका राष्ट्रिय वा क्लबस्तरीय सबै खाले प्रतियोगितामा रुसलाई अनिश्चितकालको लागि प्रतिबन्ध लगाएको हो ।

यो निर्णयपछि भने रुसले यही वर्ष कतारमा हुन गइरहेको विश्वकप र गर्मी याममा हुने महिला युरो २०२० कप खेल्न नपाउने भएको छ ।

त्यस्तै युरोपा लिगको अन्तिम १६ को खेलअघि यो निर्णय हुँदा रुसी क्लब स्पार्तक मस्को लिगबाट बाहिरिएको छ ।

स्पार्तक मस्को लिगबाट बाहिरीएपछि यसको फाइदा लिँदै विपक्षी आरबी लेइपजिग सहजै क्वार्टरफाइनलमा पुगेको छ ।

साथै, यूईएफएले रूसी ऊर्जा कम्पनी गाजप्रोमसँगको प्रायोजन सम्झौता पनि तोडेको छ । 

Categorized in स्पाेर्ट्स