प्रधानन्यायाधीश जबराविरुद्ध सिफारिस समिति गठन
SamacharDesk | २०७८ फाल्गुण २३, सोमबार

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि सारेको छ ।
प्रतिनिधिसभाको हिजो बसेको बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको हो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव गर्नुभएको महाअभियोग सिफारिस समिति गठनको प्रस्ताव बहुमतले पारित गरेको हो ।
समितिमा संसद अवरोध गरिरहेको प्रमुख विपक्षी दल नेकपा एमालेका सदस्यहरु पनि समावेश गरिएका छन् । समितिमा संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले ४, कांग्रेस र माओवादी केन्द्र दुई÷दुई, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक÷एक जना सदस्य छन् ।
समितिमा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल रहनुभएको छ । यस्तै, नेपाली कांग्रेस मिनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट, नेकपा माओवादी केन्द्र रेखा शर्मा, यशोदा सुवेदी गुरुङ, नेकपा एकीकृत समाजवादी कल्याणी खड्का,जनता समाजवादी प्रमोद साह र लोकतान्त्रिक समाजवादीको तर्फबाट एकवाल मियाँ रहेका छन् ।
प्रधानन्यायाधीश राणाविरुद्ध फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता भएको थियो । आइतबार पनि विपक्षी दल एमालेले संसद अवरोध जारी राख्यो । निर्धारित समयभन्दा १ घण्टा ढिलो भएको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदहरुले वेल घेराउ गरेका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २९ गते बस्नेछ ।
Categorized in राष्ट्रिय