पहिलाे महिला मुटु शल्य चिकित्सक डा.दिक्षा जाेशीसँग कुराकानी
SamacharDesk – रक्षण राजाेपाध्याय | २०७८ फाल्गुण २४, मंगलबार

नेपालको पहिलो महिला मुटु शल्य चिकित्सक हुनुहुन्छ डा. दिक्षा जोशी ।
टियानजिन मेडिकल विश्वविद्यालय चाइनबाट अध्ययन गरेकी डा. जोशी हाल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान बीर अस्पतालमा कार्यरत छिन् । साथमा कार्डियोथोरासिक र भास्कुलर सर्जरी विभागकी कार्डियोथोरासिक सर्जन सल्लाहकार पनि हुन् भने नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उपसचिव पदमा छिन् ।
आज अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उहाँसग समाचारडेस्कका सम्वाददाता रक्षण राजोपाध्यायले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
१. नेपाली समाजमा मुटुको स्वास्थ्य अवस्था कस्तो देखिन्छ ?
नेपालको सन्दर्भमा विशेष गरेर शहरमा बस्ने समाजमा मुटुको समस्या बढेको देखिएको छ । यहाँ मुटुको नशा ब्लक हुने समस्या बढि पाइएको छ । यसले गर्दा हर्ट अट्याकको सम्भावनालाई बढाउँछ । ग्रामिण क्षेत्रमा भने प्रायमा बाथ रोग बढी पाइएको छ, तर विश्वको सन्दर्भमा नशा blockage को समस्या नै बढि देखिन्छ ।
२. वर्तमान समयमा आएर नेपालीहरुमा मुटुको समस्या बढ्दै जानुको मुख्य कारण के हो ?
मुटुको समस्यामात्र होइन, यहाँ स्वास्थ्य सम्वन्धि हरेक क्षेत्रमा समस्या बढ्दै गएको देखिन्छ । यसको मुख्य कारण भनेको त नेपालीहरुको जीवनशैली नै हो । दैनिक जीवनशैली, खानपान, व्यायाममा कमी आदि कारणले नै स्वास्थ्य समस्या बढेको हो ।
प्राय नेपालीहरुको शारिरीक व्यायाममा निकै कमी आएको छ । अझ भनौं व्यायाम त छैन नै भन्दा हुन्छ । त्यसमा पनि चिल्लो, बोसो लगायत जंक खानेकुरा बढि खाने गर्छन् । व्यायाम र खानपानमा ध्यान दिने हो भने समस्या धेरै हदसम्म कम गर्न सकिन्छ ।
मुटुको रोगी भइसकेपछि पनि उपचारको क्रममा विरामीले जीवनशैलीमा परिवर्तन ल्याउने हो भने समस्यालाई बल्झिन दिँदैन ।
३. विरामीको उपचार वा स्वास्थ्य समस्या निदान हुन विरामीको मनोविज्ञानले कत्तिको काम गर्छ ?
विमारी र विरामीको मनोविज्ञानको ठुलो सम्वन्ध हुन्छ । कतिपय अवस्थामा विरामीको मनोविज्ञानले नै सामान्य समस्या पनि ठुलो बन्न सक्छ अथवा मनोविज्ञानले नै स्वास्थ्य सम्वन्धि ठुला समस्यालाई पनि जित्न सकिन्छ । त्यसैले हामीले विरामीको मनोविज्ञान बुझेर नै उपचार गर्ने हो ।
विरामीलाई मनोवैज्ञानिक रुपमा मैले रोगलाई जित्न सक्छु भन्ने आत्मविश्वास जगाउन सक्नुपर्छ, उसमा बाँच्ने इच्छा जगाउनुपर्छ । बाँच्ने इच्छा भएका विरामीहरुलाई धेरै औषधी नै दिन नपर्ने अवस्थामा बाँच्ने इच्छा शक्ति नै नभएकोलाई जति सुकै औषधी दिए पनि उपचारको असरमा फरक देखिने गर्दछ ।
४. तपाईँ विरामीको उपचारको लागि के पक्षमा बढि ध्यान दिनुहुन्छ ? उसको मनोविज्ञान वा शारिरीक समस्या ?
उपचारको लागि यी दुवै पक्षमा ध्यान दिनु आवश्यक छ । मैले भख्खरै पनि भनें नि, शुरुमा त विरामीको मनोविज्ञानको नै अध्ययन गर्ने हो र विरामीलाई मानसिक रुपमा तयार गर्ने हो । त्यसपछि विरामीको शारिरीक अवस्थामा ध्यान दिने हो ।
शारिरीक अवस्थामा शुरुमा विरामी पर्नुको कारण बुझ्नुपर्ने हुन्छ । शारिरीक समस्या के कति गम्भीर छ त्यो बुझ्ने हो । मुटुको अधिकतम रोगहरुमा समयमै रोग पत्ता लगाउन सक्यो भने उपचार पनि त्यहि हिसाबले चाँडै गर्न सकिन्छ वा रोकथाम गर्न सकिन्छ ।
५. नेपालमा तपाईँ पहिलो मुटु शल्य चिकित्सक हुनुहुन्छ, मुटुरोगमै तपाईँको ईच्छा जाग्नुको केही विशेष कारण छ कि ?
मलाई पहिलादेखि नै सर्जन बन्न मनलाग्थ्यो । पहिला स्कुले विद्यार्थी जीवनमा पनि के बन्ने भनेर सोध्दा डाक्टर बन्ने भन्थें । अलि कम बुझेको बेला डाक्टर बन्ने भन्थें, अलि बुझ्ने भएपछि सर्जन बन्ने भन्ने गरें ।
फेरी मलाई मिहिनेत गर्न निकै मनलाग्छ । त्यसैले मिहिनेत लाग्ने क्षेत्र नै मन लाग्छ । मुटु स्वास्थ्य भन्ने कुरा एकाग्रता र मिहिनेत दुवै चाहिन्छ । त्यसैले मैले यहि क्षेत्र रोजेको हो ।
६. एक महिला चिकित्सकको हिसाबले यस क्षेत्रमा तपाईँले के कस्ता चुनौतीहरुको सामना गर्नुपरेको छ ?
खासै त्यस्तो चुनौती नै भनेर त त्यस्तो केही लागेन । अध्ययन वा Practice को दौरान गर्नुपर्ने दुःख भनेको आफ्नै क्षमता विकास गर्न हो, त्यसलाई के दुःख मान्नु । फेरी मलाई आफ्नो परिवारको आफ्नो श्रीमानको पनि राम्रै Support छ । त्यसैले पनि त्यस्तो धेरै चुनौतीहरुको सामना गर्नुपरेन ।
नेपालको पहिलो मुटु रोग विशेषज्ञ भएकै कारणले एक जना चिकित्सक भएर मैले बोकेको जिम्मेवारीलाई पुरै परिवारले आफ्नै जिम्मेवारी ठानेका छन् । सबैबाट राम्रै सहयोग छ ।
७. समाजमा त महिला अघि बढ्न खोज्दा नकारात्मक टिकाटिप्पणी खुब हुने गर्छ, तपाईँले शुरु शुरुमा समाजबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
मैले त शुरुबाटै राम्रै प्रतिक्रिया पाएको छु । नेपालमै पहिलो महिला मुटुरोग विशेषज्ञ भन्न पाउँदा मेरा आफन्तजन, समाजले गर्वकै महसूस गरे । र जति धेरै मिहिनेत गर्दै गएँ, समाजबाट साथ र सहयोग पनि उत्तिकै बढेको छ ।
८. पहिलो शल्यक्रिया बेला कस्तो अनुभव भयो ? डर पनि लाग्यो कि ?
शुरुमा नै एक्लैले शल्यक्रिया गरेको थिएन । शुरुमा त आफुभन्दा सिनियर चिकित्सकहरुलाई सहयोग गर्दै अपरेशनमा बसेको थिएँ । अनि विस्तारै आफैंले शल्यक्रिया गर्न थालें । त्योबेलासम्म पुग्दा मलाई त्यस्तो डर केही महसूस भएन ।
९. समय समयमा चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भयो आदि भनेर चिकित्सकलाई कुटपिट गर्ने, दुव्र्यवहार गर्ने घटनाहरु भइरहन्छ । तपाईँले पनि यस्तो घटनाको सामना गर्नुपरेको छ कि ?
हामीले शल्यक्रिया वा उपचार गर्दा सकेसम्म सफल नै हुन खोज्ने हो । विरामीको जीवन रक्षा गर्न सकौं भनेर नै हामीले यो पेशा अपनाएका हौं । तर यस्तै हुन्छ भन्न सकिन्न । चिकित्सकले विरामीको जीवन बचाउन नसक्दा चिकित्सकप्रति परिवारले दुव्र्यवहार गर्ने, कुटपिट गर्ने घटना भइरहन्छ ।
मुटुको शल्यक्रिया भने अरुभन्दा । जटिल हुने गर्दछ । त्यसैले विरामी र परिवारलाई पहिले नै राम्रोसँग परामर्श दिने गर्छु । त्यसैले अन्यमा जस्तै झगडा गर्न आउने, कराउन आउने, दुव्र्यवहार गर्ने खालको घटनाहरु खासै हुँदैन ।
नाेट ः यस अन्तर्वार्तामा डा. दिक्षा जाेशी नेपालकाे पहिलाे मुटु शल्य चिकित्सक हुनुपर्नेमा यस अघि अन्यथा हुन गएकाेमा सच्याइएकाे छ । यसबाट पाठकवर्गमा पर्न गएकाे असुविधाप्रति क्षमाप्रार्थी छाैं । – सं.
Categorized in समाज