वृद्धको जग्गा खान खोज्दा वडा अध्यक्षसहित ७ जना पक्राउ
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण २८, शनिबार

संखुवासभाको भोटखोला गाउँपालिका वडा नं. ४ की एक महिलाको जग्गा जालसाजी गरेको आरोपमा वडा अध्यक्षसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विममाया तामाङको जग्गा जालसाजी आरोपमा भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किङसाङ भोटे, सोही वडाका सुरेन्द्र तामाङ, कल्पना भोटे, ङिमा लाजुङ भोटे, मालपोत कार्यालय खाँदबारीका नायव सुब्बा महेन्द्रकुमार पराजुली, लेखापढी ब्याबसायी अनिस गुरुङ र चैनपुरका ३५ बर्षीय पासाङ शेर्पालाई पक्राउ गरि म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताउनु भयो । राम्रोसंग कान नसुन्ने, आँखा नदेख्ने निरक्षर बृद्धालाई बृद्धभक्ता कार्ड बनाईदिने भन्दै उनीहरुले २७ रोपनी जग्गा हत्याएको प्रहरीको दाबी छ ।
आरोपीहरूले फागुन २ गते मालपोत कार्यालय खाँदबारीमा स्व।दलबहादुर तामाङको नाममा रहेको ६ कित्ता जग्गा विममायाको नाममा नामसारी गरि सोही दिन नामसारी गरिएका जग्गा मध्ये कित्ता नं। २८० को जग्गा वडाध्यक्ष भोटेको तर्फबाट कल्पना भोटे र सुरेन्द्र तामाङको तर्फबाट आफ्नै श्रीमती ङिमालाजुङ भोटेको नाममा संयुक्त रुपमा रजिष्ट्रेसन पास गरेका थिए ।
जग्गा पास गर्न जनप्रतिनिधि देखि कर्मचारीहरू समेतको मिलेमतो देखिएको प्रहरीको भनाइ छ । पक्राउ परेका भोटे नेकपा एमालेवाट निर्वाचित वडाध्यक्ष हुन् ।
Categorized in समाज