वाङ राष्ट्रपति र शीर्ष नेताहरुलाई भेट गरी आजै फर्कने
SamacharDesk – Ram Dangol | २०७८ चैत्र १३, आइतबार

नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेट गर्दै हुनुहुन्छ । यस्तै विदेशमन्त्री वाङले आजै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुहुनेछ । ओली र दाहालसंग होटल हायातमा भेट्ने कार्यक्रम छ । चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमण सकेर आज अपराह्न ३ बजे स्वदेश फर्कनु हुनेछ । दक्षिण एशियाल देशहरु अफगानिस्तान, पाकिस्तान, भारत हुदै गत शुक्रबार साँझ वाङ नेपाल आउनु भएको थियो ।
नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीचको सहकार्यात्मक सम्बन्ध एवम् साझेदारीलाई अझ घनिभूत तुल्याउन दुवै देश सहमत भएका छन् । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच सिंहदरबारमा शनिबार भएको द्विपक्षीय वार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा समझदारीमा हस्ताक्षर पनि गरेका छन् ।
आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नेपालमा चीन–नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना, नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता, सुरक्षितरुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी, चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्रमा समझदारी भएको छ ।
त्यसैगरी अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र, रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको दस्तावेज, कोभिड–१९ चीन सहायताअन्तर्गत नेपाललाई (पाँचौं र छैटौं खेपमा ४० लाख सिनोभ्याक खोप) खोप आपूर्ति र स्वीकृतिको प्रमाणपत्र तथा चितवनस्थित विपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो ।
आफ्ना चिनियाँ समकक्षीलाई द्विपक्षीय वार्तामा स्वागत गर्दै मन्त्री खड्काले शताब्दीऔँ पुरानो नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने आफ्नो चाहना व्यक्त गर्नुभयो । चिनियाँ सहयोगमा सञ्चालित विकास–निर्माणका परियोजना समयमै पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल–चीन सिमा नाका सञ्चालन नहुँदा नेपालको अर्थतन्त्रमा परेको प्रभाव, कोभिड–१९ को महामारीले आर्थिक गतिविधिमा थपेको समस्या, अर्थतन्त्रको पुनरुत्थानमा नेपालका चुनौती, घट्दो विप्रेषण आप्रवाहलगायत मुलुकले झेल्नुपरेका चुनौतीबारे मन्त्री खड्काले प्रकाश पार्नुभएको थियो ।
हिजै चिनियाँ लगानीमा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि चीनले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
Categorized in राष्ट्रिय