arin enterprises

प्रहरी महानिरीक्षक क्षेत्रीको पत्रकारहरुसँग अन्तरक्रिया

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ बैशाख १४, बुधबार

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पत्रकारहरुसँग समसामयिक विषयमा छलफल गरेका छन् । बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै प्रहरी महानिरिक्षक थापाले पत्रकारहरुसँग छलफल गरेका हुन् ।

त्यस अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो कार्यकालमा भएका कामहरूको चर्चा गरे ।

क्षेत्रीले माथिल्लो तहमा मात्रै नभई तल्लो तहका कर्मचारीहरूलाई प्राथमिकतामा राखेर काम गरेको, प्रहरी नियमावली संशोधन गरी कार्यान्वयनमा ल्याइएको, प्रहरी नियमावली अनुसार सरूवा/बढुवा गरिएको, अपराध अनुसन्धान लगायत फरार अभियुक्त पक्राउ एवम् लागूऔषध विरूद्धको अभियानलाई तीव्र पारिएको दावी गरे ।

नेपाल प्रहरी कार्ययोजना जारी गरी कार्यान्वयन गरिएको, नेपाल प्रहरीलाई एउटा प्रणालीमा लैजान बिशेष पहल गरिएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा संचारकर्मीहरुले राखेका जिज्ञासाको उत्तर दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीहरूले कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथाममा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

नेपाल प्रहरीमा नीतिगत सुधारका लागि विविध प्रयासहरू गरेको चर्चा गर्दै उहाँले प्रहरी ऐन तथा प्रहरी नियमावली अनुसार नेपाल सरकार र तालुक मन्त्रालयले गरेको निर्णयलाई कार्यान्वयन गर्दै काम गरिएको बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार केसीले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको कार्यकालका प्रमुख उपलब्धीहरू सहितको कार्य प्रगती विवरण प्रस्तुतीकरण गर्नुभयो ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक मुकुन्द राज आचार्य, वरिष्ठ प्रहरी अधिकृतहरूको साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

Categorized in समाज