बम राखेको हल्लापछि आन्तरिक टर्मिनल १ घण्टा अवरुद्ध
SamacharDesk | २०७९ बैशाख २१, बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको हल्लाले एक घण्टा आन्तरिक उडानमा अवरोध भएको छ ।
विदेशबाट विमानस्थलको ल्याण्डलाइन टेलिफोनमा विमानस्थलको आन्तरिक टर्मिनलको ६ स्थानमा बम रहेको भन्दै फोन आएपछि विमानस्थल अवरुद्ध भएको थियो । बम राखेको अपुष्ट खबर आएपछि विमानस्थलको आन्तरिक टर्मिनलमा जम्मा भएका यात्रुलाई बाहिर निकालिएको थियो ।
बमको हल्लाले करीब एक घण्टा विमानस्थल अवरुद्ध भएको थियो । जसका कारण आन्तरिक उडानहरुको पूर्व निर्धारित फ्लाइट केही समय पर सरेको छ । विमानस्थलका ड्युटी अफिसरको टेलिफोनमा आएको कलमा ‘सलामवालेकुम’ भनेर सम्बोधन गर्दै हिन्दीमा डोमेस्टिक टर्मिनलमा बम राखिएको बताइएको थियो ।
फोन गर्ने व्यक्तिले डिङटोङ नामक एप्स प्रयोग गरेर फोन गरेको पाइएको प्रहरीले जनाएको छ । विमानस्थल पूर्ण रुपमा सुरक्षित रहेको पनि विमानस्थल सुरक्षा स्रोतले बताएको छ ।
Categorized in समाज