arin enterprises

कास्कीमा दुर्घटनापछि फरार कार चालक काठमाडौंमा पक्राउ

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ बैशाख २१, बुधबार

कास्कीमा बाबु छोरीको ज्यान जाने गरी भएको सडक दुर्घटना पछि फरार कार चालक काठमाडौंबाट पक्राउ परेका छन् ।

गत आइतबार विहान कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका वडा नम्बर ४ लेवाडेस्थित पोखरा बागलुङ्ग राजमार्गमा ग ३ च ३५२५ नम्बरको निजि कारले पोखरातर्फ जाँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुछोरीको ज्यान गएको थियो ।

घटनापछि फरार रहेका कार चालक पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १ बस्ने वर्ष २७ को एन्जिल बम मल्ललाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान र कारवाहीका लागि पोखरा पठाइएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ४ का ४५ वर्षीय जितबहादुर पुन र उनकी छोरी १८ वर्षीया सबिना पुनको मृत्यु भएको थियो । छोरी सविनाको घटनास्थलमै र बाबु जित बहादुर पुनको पोखराको मेट्रोसिटि हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो ।

दुर्घटना पछि पिडित पक्षले जिल्ला प्रहरी कार्यालय कास्की अगाडी कार चालकलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका थिए । प्रहरीले घटनाको अनुसन्धान र फरार कार चालकलाई खोज्न बेवास्ता गरेको भन्दै आक्रोशित पिडित पक्षले केही बेर पोखरा बागलुङ्ग राजमार्ग अवरुद्धसमेत गरेका थिए ।

त्यसपछि प्रहरीले फरार मल्लको फोटो सामाजिक संजालमा सार्वजनिक गरी खोजिको लागि अनुरोध गरेको थियो भने खोजी कार्य पनि तीव्र बनाएको थियो ।

Categorized in समाज