arin enterprises

धर्मादित्यको जन्मजयन्तीमा वरिष्ठ पत्रकार कर्णजित सम्मानित

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७९ जेठ २, सोमबार

पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको जन्मजयन्तीको दिनमा सातौं मातृभाषा पत्रकारिता दिवस मनाइएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर  शाखाले एक कार्यक्रमको आयोजना गरी दिवसको साथमा पहिलो मातृभाषी पत्रकार धर्मादित्यको जन्मजयन्तीसमेत मनाएको हो ।

कार्यक्रममा काभ्रेकी वरिष्ठ पत्रकार रमा कर्णजित (ताम्रकार) लाई सम्मान गरिएको छ । वरिष्ठ पत्रकार कर्णजितलाई नगद रु १५ हजार राशीसहित पुरस्कारबाट सम्मान गरिएको हो ।

धर्मादित्यकै जम्मस्थल ललितपुरको चिकंबहिलमाआयोजना भएको कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले कर्णजितको सम्मान पत्र प्रदान गर्नुभयो ।

७३ वर्षीया पत्रकार कर्णजित हाल अस्वस्थ रहनुभएकोले पुरस्कारको १५ हजार नगद राशि र प्रमाणपत्र उहाँका प्रतिनिधिको रुपमा पत्रकार दबू काभ्रे शाखाका अध्यक्ष सिद्धिबहादुर कर्माचार्यलाई प्रदान गरिएको थियो ।

आफ्नै सम्पादन र प्रकाशनमा नेपाल भाषाको मासिक पत्रिका दलुचा नियमित प्रकाशन गरी नेपाल भाषाको पत्रकारिता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा कर्णजितलाई सो पुरस्कार प्रदान गरिएको पत्रकार दबू ललितपुर शाखाका कोषाध्यक्ष सुनील बज्राचार्यले जानकारी दिनुभयो ।

नेवाः समुदायको मातृ संगठन नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले समुदायको हक अधिकार, सामाजिक परिर्वतनका लागि पत्रकारितामा लागेकालाई प्रोत्साहन र नयाँ पत्रकार उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

मातृभाषा पत्रकारितामा धर्मादित्यको योगदानको चर्चा गर्दै बज्राचार्यले नेपालभाषा र साहित्यको संरक्षणमा नेवाः पत्रकारहरुको देनको प्रशंसा गर्नुभयो ।

वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर ‘असंबरे’ ले मातृभाषाको पत्रकारिताको गुणस्तर, व्यावसायिकता विकासमा राज्यको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

पत्रकार दबूका केन्द्रीय सल्लाहकार साथै गुठी संस्थानका प्रशासन प्रमुख किरण शाक्यले धर्मादित्य धमाचार्यको जन्मजयन्तीको दिन मनाउँदै आएको मातृभाषा पत्रकारिता दिवसलाई बृहत बनाउने दिशामा थप गृहकार्य गनुपर्ने खाँचो औल्याउनुभयो ।

केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले नेपालमा मातृभाषाको पत्रकारिताको विकासको लागि दबूले उठाउँदै आएका एजेण्डा र मुद्दाको कार्यान्वयन गरी प्रेस स्वतन्त्रताको उच्चत्तम अभ्यासमा टेवा पु–याउन सबै सरोकारवालाको ध्यान आकृष्ट गराउनुभयो ।

ललितपुर शाखाका अध्यक्ष सागर महर्जनले मातृभाषाको पत्रकारितामा विकासमा योगदान दिएका पत्रकारहरुको मनोबल बढाउन दाता स्वर्गीय रमेश महर्जनको सहयोगमा स्थापित यस पुरस्कार विविध कारणले ६ वर्षदेखि रोकिएको उल्लेख गर्दै अब निरन्तर प्रदान गर्दै जाने बताउनुभयो ।

नेपाल संवत् १०४५ (वि सं १९८२) बुद्ध जयन्तीको दिन भारतको कलकत्ताबाट धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले ‘बुद्ध धर्म’ नामक पत्रिका प्रकाशन गरेपछि नेपाल भाषाको साथमा मातृभाषा पत्रकारिता शुरुआत भएको थियो ।

उहाँको १ सय १७ औं जन्मजयन्तीलाई मातृभाषा पत्रकारिता दिवसका रुपमा सात वर्ष अघिदेखि मनाउन थालिएको हो ।

Categorized in समाज