arin enterprises

दीपाको सरप्राइज सार्वजनिक

SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ पौष १०, बिहिबार

नेपालभाषाको संगीत क्षेत्रमा मेलोडी क्वीन उपनामले परिचित गायिक दीपा महर्जनको एकल म्यूजिक एलबम सरप्राइज सार्वजनिक भएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रमका बीच महर्जनको एलबम सार्वजनिक गरिएको हो ।

कार्यक्रममा हास्य सम्राट मदनकृष्ण श्रेष्ठ र वरिष्ठ संगीतकार वीरप्रसाद भन्सारीले संयुक्त रुपमा एलबमको विमोचन गर्नुभयो ।

एलबममा समाविष्ट ६ वटा गीतमा गायिका महर्जनको एकल स्वर रहेको छ भने दुइवटा गीतमा महर्जनलाई यमन श्रेष्ठको साथमा बलिउडका प्रशिद्ध नेपाली गायक उदीतनारायण झाले समेत साथ दिएका छन् ।

रचना सुरेन्द्र तुलाधरको रहेको छ भने संगीत नील शाक्यको रहेको छ । साथमा तुलाधरले एउटा गीतमा र अर्को एउटा गीतमा यमन श्रेष्ठले पनि संगीत दिएका छन् ।

संगीत संयोजन भने भुपेन्द्र बज्राचार्य र जिवीत जल्मीले गरेका छन् ।

एलबम सुखावति मल्टि प्रोडक्सनले बजारमा ल्याएको छ ।

 

नयाँ चलचित्र पनि घोषणा

दीपा महर्जनको सरप्राइज विमोचन कार्यक्रममै सुखावति मल्टि प्रोडक्सनको नयाँ चलचित्र ‘छंगु जिगु माया रतन’ पनि घोषणा गरिएको छ ।

कार्यक्रममा चलचित्र छंगु जिगु माया रतनको मुहुर्त सटमा नेपालभाषाको दोश्रो सेल्यूलोइड चलचित्र राजमतिकी नायिका हिसिला महर्जनले क्ल्याप र नायक मणिराज लवटले निर्देशन गर्नुभयो ।

चलचित्रमा नव कलाकार लजना महर्जन र सरोज श्रेष्ठको साथमा यमन श्रेष्ठ, रवि डंगोल, लूनिभाः तुलाधर, रोजिना सुवालको मुख्य भूमिका रहनेछ । लेखन र निर्देशन भने सुरेन्द्र तुलाधरको रहेको छ ।

चलचित्रको टाइटल गीतमा उदीतनारायण झा र दीपानारायण झाको स्वर रहेको छ ।

कार्यक्रममा बोल्दै चलचित्र निर्देशक साथै सुखावतिका अध्यक्ष सुरेन्द्र तुलाधरले गायक उदीतनारायणको सुझाव अनुरुप नै चलचित्रको नाम छंगु जिगु माया रतन राखिएको जानकारी दिनुभयो ।

सो गीत गाउन दिन आफ्नो टीमले उदीतलाई भेटेका समयमा उदीतले यो गीत चलचित्रमा राख्ने हो कि होइन भन्ने प्रश्न गर्दै चलचित्रको नाम पनि यहि राख्न अनुरोध गरेको तुलाधरले बताउनुभयो ।

चलचित्रको सुटिङ आउँदो माघ १ गते माघे संक्रान्तीको दिनमा शुरु हुने जानकारी तुलाधरले दिनुभयो ।

Categorized in पेजथ्री