arin enterprises

काठमाडौं महानगरपालिकालाई विश्वकै सुन्दर र सांस्कृतिक सहर बनाउने नव प्रमुख तथा उपप्रमुखको प्रतिवद्धता

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ जेठ १३, शुक्रबार

काठमाडौं महानगरपालिकाको नयाँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएको छ । त्यस्तै उपमेयरमा सुनिता डंगोल विजय भएको छ ।

निर्वाचन आयोगले हिजो साँझ सम्पन्न ३२ वटै वडाको मतगणनापछि बालेन शाह मेयर निर्वाचित हुनुभएको जनाएको हो । आयोगले आज विहान मात्रै औपचारिक घोषणा गरेको हो । लौरो चिह्न लिएर स्वतन्त्र उम्मेदवारको रूपमा मेयर पदमा लडेका बालेन शाहले ६१ हजार ७६७ मत ल्याउनुभयो ।

त्यस्तै निकटम् प्रतिष्पर्धी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत पाउनुभयो । एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाउनुभयो ।

आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत पाउनुभयो । राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले ५ हजार ७७० मत ल्याउँदा विवेकशील साझाकी समीक्षा बास्कोटाले ६४७ मत पाउनुभयो ।

उपमेयरमा सुनिता डंगोलले ६८ हजार ६१२ मतसहित विजयी हुँदा पाउँदा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ८ सय ६ मत पाउनुभयो । उपमेयरमै आँखीझ्याल चुनाव चिह्न लिएर उठेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ (महर्जन) ले १३ हजार ६९५ मत पाउनुभयो ।

निर्वाचित भएसँग मेयर बालेन्द्र शाहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गर्नुभएको छ । निर्वाचन परिणामलाई आफूले एउटा सुरूआतको रूपमा लिएको भन्दै उहाँले परिणामलाई विजय भन्दा पनि आफूहरुको एजेण्डा लागू गर्ने सुरूआत भएको बताउनुभयो । काठमाडौं महानगर परिवारको रूपमा रहेको भन्दै उहाँले यो सधै परिवार नै रहने पनि बताउनुभयो ।

त्यस्तै काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले काठमाडौंबासीको जिम्मेवार जनप्रतिनिधिको रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । नवनिर्वाचित उपमेयर डंगोलले आफूले निर्वाचनको परिणामलाई उत्साहको रुपमा भन्दा पनि जिम्मेवारीबोधको रुपमा लिएको प्रतिक्रिया दिनुभयो ।

आफूले निर्वाचनको बेला काठमाडौं महानगरलाई स्वच्छ, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरी बनाउने भनेको अभियान आजैबाट सुरु भएको बताउँदै उहाँले त्यसमा साथ दिन सबै मतदाताहरुलाई आह्वान गर्नु भयो । महानगरपालिका उपमेयर डंगोलले एक÷अर्काको खुट्टाको तान्ने प्रवृत्तिभन्दा माथि उठेर काम गर्ने बताउनुभयो । 

उहाँले आफूहरुबाट गल्ती हुन नदिन नगरबासीहरुले खवरदारी गरिरहने विश्वास व्यक्त गर्नु भयो ।

Categorized in स्थानीय