arin enterprises

शौचालयमा महानगरलाई नविल बैंकको साथ

SamacharDesk | २०७९ जेठ २५, बुधबार

गत १६ गते नगर कार्यपालिकाको बैठकले काठमाडौंभित्रका होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायमा रहेका शौचालहरु सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेको थियो ।

सोही अनुरुप बैंक तथा अन्य उद्योगी संस्थाहरुलाई यसलाई अभियानकै रुपमा लिई ऐक्यबद्धता जनाउने क्रम जारी छ । यसै सिलसिलामा आज  नविल बैंकले काठमाडौं महानगरभित्रका आफ्ना १८ शाखामा रहेका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने भएको छ ।

बैंकले आज काठमाडौं महानगरपालिकासँग सम्झौता गर्दै सो घोषणा गरेको हो । बैंकले यस सम्बन्धी महानगरसँग गरेको १३ बुँदे सम्झौता प्रकाशित गरेको छ । सम्झौता अनुसार सबै शौचालयको दायित्व बैंक स्वयम्‌ले बहन गर्ने उल्लेख छ । 

सार्वजनिक शौचालय भएका भवनमा प्रष्ट देखिने गरी सूचना बोर्ड राख्ने र शौचालयमा आवश्यक सरसफाइको जिम्मेवारी बैंकले नै लिने जनाइएको छ ।

उक्त सम्झौता बैंक र महानगरबीच पाँच वर्षका लागि हुनेछ । त्यसपश्चात फेरि सम्झौताको अवधि थप्न सकिने बताइएको छ । सार्वजनिक शौचालयको अनुगमन र मूल्यांकनका लागि प्रत्येक चार महिनामा दुवै पक्षबाट एक(एक प्रतिनिधि खटाइने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौतामा काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल र नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले हस्ताक्षर गरेका छन् ।

यसअघि ज्योति ग्रुपका सौरभ ज्योतिले पनि आफ्ना सम्पूर्ण होन्डा शोरुममा सबैका लागि निःशुल्क शौचालय उपलब्ध गराउने घोषणा गरिसकेका छन् ।

Categorized in स्थानीय