प्रसारण लाइनमा झुण्डिएका विकको सकुशल उद्धार
SamacharDesk | २०७९ जेठ २९, आइतबार

नुवाकोटको ककनी गाउँपालिकास्थित विद्युत्को प्रसारण लाइनमा चढेका युवकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।
शनिबार बिहान ११ बजेतिर तारमा चढेका बेलकोट नगरपालिका–१३ का माइला बिकलाई तालिमप्राप्त सैनिकहरुले टावरमा चढेर उद्धार गरेका हुन् ।
बिक विद्युतको पोलमा चढ्न थालेपछि करेन्ट लाग्न सक्ने भन्दै स्थानीयको खबरपछि प्राधिकरणले माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरेको थियो ।
बिक तारमा चढेर लामो समय नओर्लिएका कारण देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त भएको थियो । प्रसारण लाइनमा चढेका बिकको मानसिक सन्तुलन ठीक नरहेको बताइएको छ ।
नेपाल विद्युत् प्राधिकरणको त्रिशुली–काठमाडौँ २२० केभी प्रसारण लाइनमा उक्त व्यक्ति चढेपछि निजलाई उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निर्देशन दिनुभएको थियो ।
मन्त्री भुसालले प्रसारण लाइनमा झुण्डीएका माइलाको उद्धारका लागि नेपाली सेनालाई आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभयो “विद्युत् लाइनको जोखिमलाई ध्यान दिएर हेलिकोप्टरबाट भएपनि उद्धार गरौ भनेर सेनालाई आग्रह गरेको छु।”
Categorized in समाज