arin enterprises

६ महिनाभित्र सुनधाराबाट पानी खसाल्ने महानगर प्रमुखको अठोट

SamacharDesk – राम डंगोल | २०७९ जेठ ३०, सोमबार

इतिहासकै नासोका रुपमा रहेको सुन्धाराको नामले परिचित लुँहितिको सरसफाई कार्य भएको छ । सुन्धारा अर्थात लुँहितिको दुरावस्थाबारे संचार माध्यममा प्रसारण हुन थालेपछि काठमाडौंका मेयर शाहले सुन्धाराको अवलोकन गर्नु भएको छ ।

उहाँले सुन्धाराको मर्मत सम्हार गरी धाराबाट प्राकृतिक रूपमा पानी ल्याउने काम अघि बढिसकेको बताउनुभएको छ । ऐतिहासिक लुँहितिको बेहाल अवस्थाबारे जानकारी पाएपछि सुन्धाराको अवलोकन गर्न जानु भएका मेयर शाहले ६ महिनाभित्र सुन्धाराबाट पानी खसाल्ने बताउनु भएको हो ।

टुँडिखेलबाट पानी ल्याएर सुन्धाराबाट खसाल्ने भन्दै उहाँले त्यसका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गर्ने तथा बजेटको ब्यवस्था महानगरले गर्ने बताउनुभयो ।

मेयर शाहले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासंग पनि टुँडिखेलको पानी सुन्धारा लैजाने विषयमा सकारात्मक कुरा भएको जानकारी पनि दिनुभयो ।

यसअघि नवनिर्मित धरहरालाई अर्बाैं खर्चेेर नवनिर्माण गरिरहँदा पुरातात्विक महत्व बोकेको पुर्खाको नासोको रुपमा रहेको यस लुँहितिको संरक्षणमा भने सरकारी तवरबाट चासो समेत दिएको थिएन ।

कान्छो हितिको परिचय बनाएको सुनको मोलम्मा लगाइएको ऐतिहासिक लुँ हिति सुन्धारा केही समय यता खण्डहरमा परिणत भएको थियो ।

मकर मुखाकृति भएको हिति नवनिर्मित धरहरासहित चारैतिरबाट भीमकाय कंक्रिट संरचनाले घेरिएर अस्तित्वहीन अवस्थामा पुगेको छ ।

झाडीले छोपेर धाराको संरचना पुरै हराउँदा समेत कसैको चासो दिएको थिएन । हितिसंग सम्बन्धित ऐतिहासिक सामग्री छरपस्ट छन् ।

करिव दुई रोपनी चारआनाको संरचना मौलिक कलात्मक कलाकृतिसहित चार तहमा निमार्ण गरिएको हिति क्षेत्रफल र संरचनाको आधारमा सर्वाधिक ठूलो हिति मानिन्छ ।

Categorized in समाज