पुस्तक मेलामा कलाकारदेखि संग्रहालय प्रमुखसम्मको उपस्थिती
SamacharDesk – बिराज | २०७९ आषाढ ४, शनिबार

सधैं भोजभतेर, पार्टी भइरहने, संघसंस्थाको साधारण सभा आदि कार्यक्रमहरु भइरहने काठमाडौंको खुसिबुँस्थित नेपाः ब्यांक्वेट । पार्टीको वैठकसमेत भइरहन्छ यहाँ ।
शुक्रबारको माहौल भने बेग्लै थियो । आज पनि यहाँ एउटा संस्थाको पुस्तक विमोचन कार्यक्रम थियो तर, अन्य यस्तै कार्यक्रमहरु भन्दा बेग्लै वातावरण थियो ।
शुक्रबार यहाँ राजोपाध्याय समाजले स्व. इतिहासविद् सह प्राध्यापक गोवर्धन शर्माबाट लिखित नेपालभाषाको पुस्तक ‘उपन्यासया चाकलय् गिरिजा’ को विमोचन कार्यक्रमको आयोजना गरेको थियो ।
यसै कार्यक्रमको साथमा समाजले पुस्तक मेलाको पनि आयोजना गरेको थियो । भित्र हलमा पुस्तक विमोचनको औपचारिक कार्यक्रम चल्दै थियो भने हलको बाहिर पुस्तक मेलाको रौनक छाएको थियो ।
दिनको १२ बजेबाट सुरु गरिएको मेलामा १२ नबज्दै नै मेला अवलोकनकर्ताहरुको आगमन सुरु भइसकेको थियो ।
नेवाः चलचित्र क्षेत्रमा सक्रिय कलाकार निर्देशक अमृत चन्द्र श्रेष्ठ पनि मेला सुरु नै नहुँदै कार्यक्रम स्थलमा पुगिसकेका थिए । विहानको १० बजेतिर आयोजक समूह त टेबुलमा किताबहरु सजाउनमै व्यस्त थिए, अमृतचन्द्र पुगिहाले ।
किताब सजाउन्जेल अमृत कुरेरै बसे र पछि आफ्नो रुचि अनुसार नेपालको ईतिहास सम्वन्धि किताबहरु मेलाबाट किने ।
‘मलाई ईतिहासको अध्ययनमा रुचि छ र अन्यत्र नपाइने दुर्लभ पुस्तकहरु पाइने हुनाले यस्ता मेलाहरुमा जाने गर्दछु, यस्तो कार्यक्रम गरिरहन म राजोपाध्याय समाजलाई सुझाव दिन चाहन्छु’ कलाकार श्रेष्ठले भने ।
अचेल आधुनिक प्रविधिको विकाससँगै अध्ययन परम्परामा पनि कमी आउन थालेको छ । फलस्वरुप पुस्तकको विक्री संख्या कम हुने नै भयो ।
यस्तो अवस्थामा प्रकाशकले पनि थोरै संख्यामा मात्र किताबहरु प्रकाशन गर्ने गरेको पाइएको छ । अनि बजारमा किताब तुरन्तै सिद्धिने, आवश्यक परेकाले त्यस्तो किताब किन्न अर्को संस्करणको प्रकाशन हुने समय कुर्नुपर्ने अवस्था रहन्छ ।
यस किसिमको परिस्थितीका बीच पुस्तक प्रेमीहरुको लागि यस्ता पुस्तक मेला कार्यक्रमहरु निकै उपयोगी हुने गरेको छ ।
यस्तै अनुभव रहेको छ पाटन संग्रहालयका प्रमुख सुरेश लाखेको । लाखे पनि ठिक १२ बजे नै मेलामा पुगिहाले । उनले विशेष गरेर नेपालका धार्मिक, सांस्कृतिक सम्पदा, मूर्तिहरुको प्रतिमा लक्षण आदि सम्वन्धि किताबहरु मेलाबाट खरीद गरे ।
संग्रहालयको स्तरोन्नती गर्दै अध्ययनको थलोको रुपमा विकास गर्नका लागि आफु अध्ययन गरिरहने भएकोले यस्ता मेलामा आफु गइरहने उनले बताए ।
‘बजार जाँदा पसल पसल चाहारिराख्नुपर्ने हुन्छ । यस्तो मेलाहरुमा आफुलाई चाहिने धेरै थरी पुस्तकहरु एकै ठाउँमा पाउन सकिन्छ । त्यसैले पुस्तक मेलामा जान रुचाउँछु’ लाखेले भने ।
यस किसिमका मेलाहरुमा विशेष गरी अध्ययन, अनुसन्धान क्षेत्रमा सक्रिय अध्येताहरु पुग्ने गर्छन् । राजोपाध्याय भन्नाले काठमाडौं उपत्यकाका आदिवासी देव ब्राम्हण हुन् । ब्राम्हण भन्ने वित्तिकै धर्म, वेद, संस्कार, संस्कृतिसँग जोडिने भयो । फेरी राजोपाध्यायहरु तन्त्राभ्यास गर्ने कौलिक ब्राम्हणहरु हुन् ।
काठमाडौं उपत्यकाका कौलिक ब्राम्हण राजोपाध्यायहरुको संगठन राजोपाध्याय समाजले आयोजना गरेको कार्यक्रम भएकोले पनि होला, मेलामा वेद, धर्म, तन्त्र, संस्कार, संस्कृतिसँग सम्वन्धित पुस्तक बढि देखिन्थ्यो भने मेला अवलोकनकर्ताहरुको संख्या पनि यस्तै प्रकारका पुस्तकमा रुचि राख्नेहरुको बढि थियो ।
यसै मेलामा विद्वान अध्येता महेशराज पन्त पनि पुगे । उनले पनि मेलाबाट आफ्नो रुचि र क्षेत्र अनुसारका केही पुस्तकहरु किने । तर पन्त सन्तुष्ट भने हुन सकिरहेका थिएनन् ।
‘ठिक छ, यस्तो मेलाहरु हुनुपर्छ । तर मैले खोजेको खालका पुस्तकहरु निकै कम मात्र पाएँ । भविष्यमा अनुसन्धात्मक पुस्तकमा जोड दिन सुझाव दिन्छु’ पन्तले आयोजकलाई सुझाव दिए ।
समाजबाट पहिलो पटक परिक्षणको रुपमा मेलाको आयोजना गरेको र हजारभन्दा बढिले मेला अवलोकन गरेको मेला संयोजक सुजित राजोपाध्यायले बताए । पहिलो पटक आयोजना गरेको हुनाले परिक्षणको रुपमा लिएको संयोजक राजोपाध्यायले बताए ।
‘मेला सोचेको भन्दा सफल भएको छ, मेला भर्नेको संख्या पनि सन्तोषजनक मान्न सकिन्छ । अब पुस महिनामा वृहत मेलाको आयोजना गर्ने योजना छ’ राजोपाध्यायले भने ।
यस किसिमका कार्यक्रम सामाजिक संस्थाको लागि आर्थिक स्रोतको रुपमा पनि रहेको हुन्छ । गैर नाफामूलक संस्थाहरुले यस्तै मेलाको आयोजना गर्दै कोष बढाउने गर्ने गरेका छन् ।
राजोपाध्याय समाजले संस्थाको कोष बढाउनका लागि मात्र नभई अध्ययन परम्पराको विकासका लागि पनि मेलाको आयोजना गरेको महासचिव बिराजकाजी राजोपाध्यायले बताए ।
‘ब्राम्हण समाजलाई अध्ययनशील समाज भनिन्छ तर, अचेल अध्ययन परम्परामा कमी आउन थालेको छ । अध्ययन भइरहोस्, छलफल, अन्तरक्रिया भइरहोस् भनेर पनि यो कार्यक्रम आयोजना गरिएको हो । यसलाई अझ व्यापक बनाउँदै जानुपर्छ’ महासचिव राजोपाध्यायले भने ।
मेलामा रत्न पुस्तक भण्डार, विद्यार्थी पुस्तक भण्डार, तन्त्र चर्चा परिवार, कुतः पिकाकः लगायतका संस्थाको साथै व्यक्तिगत रुपमा प्रकाशन गरिएका विभिन्न पुस्तकहरु १० प्रतिशत छुटमा विक्री गरिएको थियो ।
दिनको १२ बजेबाट ४ बजेसम्म चल्ने भनिएको मेलामा अवलोकनकर्ताको बाक्लै उपस्थितीका कारण साँझको करीब ६ः३० बजेसम्मै चलेको थियो ।
कलाकार उदय चरण श्रेष्ठ, तन्त्र चर्चा परिवारका संयोजक सन्दीप सापकोटा, अध्येता पूर्णराम मूनकर्मी, तन्त्र साधक सरोज श्रेष्ठ, फोटोग्राफर महिला थुसः, गजलकार भूषणप्रसाद श्रेष्ठलगायत मेलाको अवलोकनका लागि पुगेका थिए ।
आउँदो पुसमा तीन दिने वृहत् पुस्तक मेला कार्यक्रमको आयोजना गर्ने समाजले जनाएको छ ।
Categorized in समाज