arin enterprises

काठमाडौंमा हैजाको प्रकोप

SamacharDesk | २०७९ आषाढ १०, शुक्रबार

काठमाडौं उपत्यकामा हैजाको प्रकोप बढ्न थालेको छ । उपत्यकाको पाँच स्थानमा हैजाका विरामी फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार काठमाडौंको बागबजारमा दुई जना विरामी फेला परेका विरामीहरु सिकिस्त भएका कारण आइसीयुमै भर्ना गर्नुपरेको जनाए । त्यसबाहेक काठमाण्डूकै डिल्लीबजार, बोहोराटार, कपन र ललितपुरको सानेपामा हैजाका एकरएकजना बिरामी भेटिएको महाशाखाले जनाएको छ ।

टेकु अस्पतालकी निर्देशक डा. मनीषा रावलका अनुसार  हैजाको समस्या यसैगरी बढ्दै गएमा आगामी दिनमा सघन उपचार कक्ष नपाउने अवस्था हुनसक्ने बताउँदै मानिसको व्यवहार, खानपान तथा पानी पिउँदा सजग हुनुपर्ने सुझाव दिनुभयो ।

उहाँले ताजा र सुरक्षित खानेकुरा मात्र खानुपर्ने भन्दै हैजा घरबाहिरको खानपानबाट मात्र नभई आफ्नै घरको चुलोमा बनेको असुरक्षित खानेकुराबाट पनि सर्न सक्ने बताउनुभयो ।

जनस्वास्थ्यविद्हरुका अनुसार दूषित खाना वा पानीको प्रयोग गरेपछि लक्षण देखिन सक्ने बताउनुहुन्छ । हैजाका लक्षणमा अचानक पानीजस्तो तारन्तार दिसा हुने, केहीमा सुरुवाती अवस्थामा पेटमा असजिलो हुने र खान मन नलाग्ने हुने, विस्तारै चौलानी पानीजस्तो पातलो दिसा भइरहने र दैनिक ५०, ६० पटकसम्म पातलो दिसा लाग्ने हुन्छ ।

बान्ता पनि तारन्तार हुने, खुट्टाका मासु बाउँडिने, असाध्यै तिर्खा लाग्ने, छटपटाहट हुने, पिसाबमा कमी आउने, सानो बच्चाका तालुमा खाल्टो पर्ने, आँखाभित्र गाडिने, आँसु नआउने, ओठमुख सुक्खा हुने, छालाको चमक हराउने, सुरुमा एकदम तिर्खाएको जस्तो देखिए लक्षण हुनसक्ने बताउनुहुन्छ ।

Categorized in राष्ट्रिय