arin enterprises

नेवाः संचार गृहले राज्यको सुविधा प्राप्त गर्न अघि बढ्न सुझाव

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ आषाढ १०, शुक्रबार

काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख विद्यासुन्दर शाक्यले राज्यबाट पाइने सुविधा प्राप्त गर्नका लागि नेवाः मिडिया हाउसहरु पनि अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

काठमाडौंमा आयोजित ‘कोरोनाबाट प्रभावित नेवाः पत्रकार र नेवाः मिडिया हाउस’ विषयक अन्तरक्रिया कार्यक्रममा निवर्तमान महानगर प्रमुख शाक्यले यस्तो भनेका हुन् ।

कार्यक्रममा बोल्दै शाक्यले राज्यबाट संचारमाध्यमका लागि उपलब्ध गराइएको सुविधा प्राप्त गर्नका लागि नेवाः मिडिया हाउसहरुबाट खासै कुनै पहल भएको नदेखिएको भन्दै यसतर्फ ध्यान दिन नेवाः मिडिया संचालकहरुलाई आग्रह गर्नुभयो ।

‘राज्यले संचारमाध्यमलाई लोक कल्याणकारी विज्ञापनहरुको साथमा सार्वजनिक महत्त्वका सूचनाहरु उपलब्ध गराइरहेका हुन्छन्, त्यो प्राप्त गर्न संचारगृहहरुले निश्चित विधि र प्रकृया अपनाउनुपर्ने हुन्छ,’ शाक्यले भने, ‘नेवाः संचारगृहहरु यस किमिसमा प्रकृयामा जान झन्झट मानेको देखियो ।’

विधि अपनाइ मापदण्ड अनुसार गएमा केही गार्‍हो अप्ठ्यारो नपर्ने बताउँदै विज्ञहरुसँग पनि सल्लाह सुझाव लिएर अघि बढ्न शाक्यले आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा शाक्यले आफुले महानगरमा सुरु गरेका भाषा, संस्कृति, सम्पदा संरक्षण सम्वन्धि कार्यक्रमहरुलाई निरन्तरताको लागि महानगरपालिकालाई सहयोग गर्ने तर निरन्तरता नदिए सडकमा आउनुपरे पनि पछि नहट्ने बताउनुभएको छ ।

वरिष्ठ पत्रकार सुरेश किरण मानन्धरले कोरोनाका कारण नेवाः पत्रकार र नेवाः संचारगृहहरुलाई परेको समस्याको स्मरण गर्नुभयो । मिडिया हाउसलाई आफु अन्तर्गत कार्यरत पत्रकार र कर्मचारीको जिम्मेवारी रहने बताउँदै मानन्धरले यस्तो जिम्मेवारीमा नेवाः मिडिया हाउसलाई झन समस्या भएको बताउनुभयो ।

नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्य, आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष अमरध्वज लामाले सबैको समस्याको समाधान र सम्वोधनको लागि सरोकारवाला निकायलाई घचघच्याउन र आवश्यक परे संघर्षमा उत्रिनुपरे पनि पछि नहट्ने विचार राखे ।

सोही कार्यक्रममा नेवाः टिभिका अध्यक्ष नवीन जोशी, पत्रकार दबूका केन्द्रीय उपाध्यक्ष रचना श्रेष्ठ, महासचिव सुनिल महर्जन, निवर्तमान अध्यक्ष श्रीकृष्ण महर्जन, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, समाचारडेस्कका सम्पादक विराजकाजी राजोपाध्यायलगायतले नेवाः संचार गृहहरुले कोरोनाकालमा भोग्नुपरेको समस्या र वर्तमान अवस्थामा त्यसको असरलाई लिएर आआफ्नो विचार राखेका थिए । 

कार्यक्रमका वक्ताहरुले नेवाः मिडिया हाउसहरुको संगठन निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको आयोजना लहना मिडियाले गरेको थियो । 

Categorized in समाज