arin enterprises

बामदेव गौतमले खोले पार्टी

SamacharDesk | २०७९ आषाढ १४, मंगलबार

नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टीको घोषणा गर्नुभएको छ । गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल घोषणा गर्नुभएको हो ।

मंगलवार काठमाडौंमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै उहाँले नेपालमा कम्युनिष्ट आन्दोलन नै धराशायी बन्दै गइरहेको बताउनुभएको छ ।

उहाँले आफूले जग हालेको र आन्दोलन शुरु गरेको कम्युनिष्ट पार्टी नै आज धराशायी बनेकोले क्म्युनिष्ट एकताका लागि नै आफूले पार्टी घोषणा गरेको बताउनु भयो । उहाँले आफूले आज घोषणा गरेको पार्टी उद्घाटनताका नेपाल नै चकित हुने दाबी गर्नुभयो ।

उहाँले आफू हालसम्म गएका पार्टीहरु सुदृढ र राम्रो बनेको दाबी गर्दै उद्घाटनका बेला हजारौँ मानिस आफ्नो साथमा हुने विश्वास व्यक्त गर्नुभयो ।

गौतम संयोजक रहेको पार्टीमा ७५ जना केन्द्रीय सदस्य रहेका छन् । त्यसमध्ये यो पार्टी समन्वय समितिको रुपमा रहँदासम्म  केन्द्रीय सचिवालयमा ८ सदस्यहरु रहने जनाइएको छ ।

पार्टीको संयोजकमा बामदेव गौतम, सचिवमा डीबी कार्की र सदस्यहरुमा ओमशर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल  रहेका छन् । पार्टीले संयोजक र सचिव बाहेक सबैजना सदस्यको रुपमा रहने बताइएको छ ।

नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहनुभएका गौतमले आफू पक्षधरको भेला गर्दै आउनुभएको थियो । नेकपालाई पुनर्जीवित गर्ने प्रयासमा रहनुभएका गौतमले एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्नुभएको हो ।

Categorized in राजनीति