arin enterprises

महिला कर्मचारीको मृत्युपछि केएमसी स्कूलमा तनाव

SamacharDesk | २०७९ आषाढ १९, आइतबार

बुद्धनगरस्थित केएमसी स्कुलमा गएराति  होस्टलको क्यान्टिनमा काम गर्ने महिला कर्मचारीको शव भेटिएपछि अशान्त बनेको छ ।

आक्रोशित समूहले स्कुलमा तोडफोड गरेको छ । ढुंगा प्रहारबाट स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ ।

स्थिति नियन्त्रणमा लिन उल्लेख्या संख्यामा प्रहरी खटाइएको छ । काभ्रेको रोसी गाउँपालिकाकी २० वर्षीया रमा रायमाझीको स्कुलको गर्ल्स होस्टेलमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेकी थिइन् ।

डेढ वर्षदेखि कार्यरत उनको हत्या भएको दाबी आफन्तले गर्दै आएका छन् । उनीहरुले शव उठाउन पनि दिएका छैनन् । घटनाबारे जानकारी पाएलगत्तै स्कुलमा भेला भएका आफन्त र प्रहरीबीच पनि केहीबेर तनावको स्थिति सिर्जना भएको थियो ।

गएराति नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विशेषज्ञ गोपाल चौधरीसहितको टोली पनि स्कुल पुगेको थियो । मृतकका बुबाआमा स्कुलबाहिर भावविव्हल अवस्थामा छन् ।

पिडित परिवारका तर्फबाट केही व्यक्तिहरुले प्रहरीसँग विवाद गरेका थिए । उनीहरुले मिडियालाई भित्र पसाएर पारदर्शी अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

अहिले विद्यालय, प्रशासन र मृतकका परिवारबीच वार्ताको तयारी भइरहेको छ ।

Categorized in समाज