दश बुँदे घोषणापत्र जारी गर्दै दोस्रो मातृभाषा राष्ट्रिय पत्रकारिता सम्मेलन समापन
SamacharDesk | २०७९ आषाढ २२, बुधबार

दश बुँदे घोषणापत्र जारी गर्दै नेवाः पत्रकार राष्ट्रिय दबुको मातृभाषा पत्रकारिता सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन समापन भएको छ ।
काठमाडौंमा भएको कार्यक्रममा संचार गृहभित्र संमाचारका विषयवस्तु समावेश हुनुपर्ने, मातृभाषा पत्रकारिताको प्रवद्र्धन गर्नुपर्ने, पत्रकारहरुको क्षमता विकासका लागि सरकारीस्तरबाटै “धर्मादित्य मातृभाषा पत्रकारिता विकास प्रतिष्ठान” गठन गर्नुपर्ने माग गरेको छ ।
कार्यक्रममा वरिष्ठ पत्रकार सुरेश किरण मानन्धर तथा अजित तामाङले मातृभाषा पत्रकारिताको अवसर र चुनौति विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमा मूलधारका पत्रकारितालगायत फरक फरक भाषाबाट गर्ने पत्रकारिता पेशा पूर्ण व्यवसायिक नभएको, पेशागत कमीकमजोरी धेरै नै रहेको लगायत क्षमता विकासका कुराहरु उजागत गर्नुभएको थियो ।
घोषणपत्र आज भन्दा ७९ वर्ष अगाडि बुद्ध जयन्तीका दिन सुरु भएको र मातृभाषा पत्रकारिता आउने २०८२ सालमा सय वर्ष पुग्ने जनाइएको छ ।
यो दिवसलाई सरकारीस्तरबाटै मनाउनुपर्ने कुरामा सबैले जोड दिएका थिए । दबूमा सार्वजनिक गरेको घोषणापत्रमा मातृभाषामा पत्रकारिता गर्दै आइरहेका पत्रकारहरुको क्षमता विकासका लागि “धर्मादित्य मातृभाषा पत्रकारिता विकास प्रतिष्ठान” गठन गर्न समेत माग गरेको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष सुरजवीर बज्राचार्यका अनुसार नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ भएको विभिन्न तथ्यबाट पुष्टि भइसकेको सन्दर्भमा श्रेष्ठलाई अविलम्ब महासङ्घको संस्थापक अध्यक्ष घोषणा गर्दै इतिहास, तथ्य र प्रमाणको सम्मान गर्न पत्रकार महासङ्घ, नेपाल सरकारलगायत सम्बन्धित सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।
कार्यक्रममा नेपाल भाषा पत्रकारिताबारे पत्रकार सुरेश किरण मानन्धर, थारु भाषाका पत्रकारिताबारे गोरखापत्र दैनिकका पत्रकार लक्की चौधरी, तामाङ भाषा पत्रकारिताबारे तामाङ पत्रकार सङ्घका वरिष्ठ उपाध्यक्ष बुद्ध योञ्जन, शेर्पा पत्रकारिता बारेमा शेर्पा सञ्चार समूहका पाशाङ शेर्पा, मैथली भाषासम्बन्धी रुपा झाले, लिम्बू भाषा पत्रकारिताबारे लिम्बू पत्रकार सङ्घका उपाध्यक्ष विष्णु लिम्बूलगायतले मातृ भाषा पत्रकारिताका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
