साउनको पहिलो सोमबार शिवालयहरुमा महिलाहरुको घुँइचो
SamacharDesk | २०७९ श्रावण २, सोमबार

आज साउन महिनाको पहिलो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजाआराधना गर्दैछन् ।
विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महिनाभर भगवान शिवको विशेष ब्रत बस्ने चलन रहेको छ ।
साउनको सोमबार बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भिड लागेको छ । ब्रतालुहरुको भीड अत्यधिक हुँदा लाइन बाहिर सडकसम्मै आईपुगेको छ ।
साउनको महिनामा बिबाहित वा अबिबाहित महिलाहरुले हातमा हरियो चुरा लगाउने साथै हरियो रंगको कपडा लगाउने र हातमा म्हेन्दीको मनमोहक शृंगार गर्ने गर्दछन ।
विवाहित महिलाका लागि रातो रंग खुशी र सौभाग्यको प्रतीक हो भने हरियो रंग चाहिँ परिवार र जीवनमा खुशी ल्याउनका लागि लगाइन्छ ।
हिन्दु धर्ममा महिलाले हरियो चुरापोते, हरियो कपडा र मेहन्दी लगाएमा बुध ग्रह प्रशन्न भई घरमा समृद्धि र शुभ हुन्छ भन्ने मान्यता रहेको पाइन्छ ।
त्यसैले श्रावण शुक्ल पक्षको तृतीया तिथिको दिन हरियाली तीज पनि भन्ने गरिन्छ ।
Categorized in संस्कृति