arin enterprises

फुटपाथ पसल हटाउ अभियानमा महानगरलाई जागरुक युवाको साथ

SamacharDesk – बिराज | २०७९ श्रावण २, सोमबार

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले अब काठमाडौं महानगर फुटपाथ पसल हटाउ अभियानबाट पछि नहट्ने बताउनु भएको छ ।

सोमबार स्वच्छ जागरुक युवा समाजको प्रतिनिधिहरुसँग काठमाडौं महानगरमा छलफल गर्दै काठमाडौं महानगर प्रमुख शाहले यस्तो भन्नुभएको हो ।

समाजका पदाधिकारी, सदस्यहरुसँग कुरा गर्दै शाहले बटुवाहरुलाई असुविधा र सम्पदाको सौन्दर्यमा असर पर्ने गरी कुनै पनि हालतमा फुटपाथ पसलहरु राख्न नदिने शाहले भन्नुभयो ।

‘फुटपाथ भनेको हिँड्नको लागि हो, यस्ता फुटपाथ पसलले गर्भवती, अपाङ्गता भएका व्यक्ति, दृष्टि गुमाएको व्यक्तिहरुलाई झन अप्ठ्यारो बनाएको छ । यसरी गैरकानूनी रुपमा फुटपाथमा अब व्यापार व्यवसाय गर्न दिइने छैन’ शाहले भने ।

जस्तोसुकै दवाब आएपनि कानूनी रुपमा चलेका व्यापार व्यवसायबाहेक अनाधिकृत रुपमा सडक, फुटपाथ ढाकेर पसल थाप्न नदिने प्रतिवद्धता उनले व्यक्त गरे ।

सो अवसरमा समाजका अध्यक्ष चन्द्र कुमार महर्जनले लकडाउनको समयमा आफुहरुले दुई सय दिन लगातार फुटपाथ पसल हटाउ अभियान चलाएको जानकारी गराउनुभयो ।

नेपालमा कोरोना संक्रमण देखा परेपछि लागू गरिएको पहिलो लकडाउनको क्रममा तत्कालीन जागरुक युवा समूहले काठमाडौंको भित्रि वस्तीमा फुटपाथ पसल हटाउ अभियान चलाएको थियो । सो अभियान दुई सय दिनसम्म निरन्तर चलेपछि बन्द भएको थियो ।

त्यो बेलामा फुटपाथ व्यापार करीब निर्मूल भइसकेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले नै फुटपाथ पसल राख्न पाइने सूचना जारी गरेको र तत्कालीन जनप्रतिनिधि र नगर प्रहरीहरुबाटसमेत असहयोग हुँदा फेरी फुटपाथ पसल बढेकाे गुनासो अध्यक्ष महर्जनले गरे ।

‘हामी संक्रमणको जोखिम मोलेर फुटपाथ पसल हटाउन निस्कियौं, फुटपाथ व्यापारीहरुबाट कुटाई पनि खाइयो । दुई सय दिनसम्म अभियान चलाउँदा सहयोग त पाइएन पाइएन । अझ फुटपाथ पसल राख्न जिल्ला प्रशासन कार्यालयले सूचना नै निकाल्दा हाम्रो अभियान नै प्रभावित बन्यो’ महर्जनले विगतका दिन सम्झिँदै भने ।

तत्कालीन जनप्रतिनिधि र नगर प्रहरीबाटसमेत असहयोग भएपछि आफुहरु त्यो बेला निराश बनेको भन्दै अब महानगरले युवा नेतृत्व पाउँदा आफुहरु हौसिएको महर्जनले बताए ।

सो अवसरमा महानगर प्रमुख बालेन्द्र शाहले स्थानीय संघसंस्थासँगको सहकार्यमा फुटपाथ पसल हटाउ अभियानलाई अझ सशक्त ढङ्गले अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यस्तै समाजका अध्यक्ष महर्जनले महानगरको फुटपाथ पसल हटाउ अभियानमा आफुहरुको समर्थनको साथमा सक्रिय सहकार्य रहने भनेका थिए ।

Categorized in स्थानीय