गुंपुन्हि तथा जनै पूर्णिमा मनाईंदै
SamacharDesk – Ram Dangol | २०७९ श्रावण २७, शुक्रबार

नेवार समुदायहरुले आज श्रावण शुक्ल पूर्णिमाका दिन गुंपुन्हि मनाईरहेका छन् ।
आजको दिनलाई “गुंला महिनाको पुन्हि” अर्थात् “गुंपुन्हि” भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा “बहिद्यः ब्वयेगु” भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ ।
यस्तै आजको दिन नेवार समुदायहरु “क्वाति” खाएर मनाउने गर्दछ । आजको दिनलाई क्वाति पुन्ही पनि भन्ने गरिन्छ । विभिन्न ९ प्रकारका गेंडागूडिहरु (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएर उक्त परिका तयार पारिन्छ ।
आजको दिन सबेरै नुहाइ धुवाई गरी घरलाई सफा गरी लिटपोट गरी विभिन्न शक्तिपीठहरुका देवीदेवताहरुलाई क्वाति चढाई पूजाआजा गरिन्छ र घरघरमा क्वाति पकाएर खाने गरिन्छ ।
नेपाल भाषामा क्वातिको शाब्दिक अर्थ “क्वाः” भनेको तातो परिकार “ति” भनेको झोल त्यसैले “क्वाति” भनेको झोलिलो परिकार हो । अघिल्लो दिन पानीमा भिजाई राखिएको मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाति भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलाई विशेष गरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्त्वपूर्ण स्वाद पनि हो ।
क्वाति खानाले शरीरमा ताप कायम राख्ने र वर्षायाममा लाग्ने चिसोका रोगबाट बच्ने शरीरलाई शक्ति दिने चिकित्सकहरु बताउँछन्। पछिल्लो समय यो खान्की नेवार समुदायबाट विस्तार भएर अन्य समुदायसम्म पुगेको छ । अन्य समुदायका मानिसले जनै फेरेर क्वाति खाने गर्छन् ।
यस दिन नेवारी समुदायका मानिसले धुमधामका साथ भ्यागुताको पूजा गर्छन् । भ्यागुतालाई पानीको प्रतीकका रुपमा लिइने भएकाले यसको रक्षा गर्न जनैपूर्णिमाका दिन विशेष पूजा गरिँदै आएको हो। ताल, पोखरी, कुवा तथा पानीको तलाउमा भ्यागुता रहने र यसले पानीको बचाउ गर्छ भन्ने विश्वासका साथ यस दिन क्वाति दिएर पूजा गरिएको हो।
हिन्दू धर्मावलम्बीहरू भने आजको दिन जनै पूर्णिमा अर्थात् ऋषितर्पणी मनाउँदछन् । जनै पूर्णीमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षा(बन्धन बाँध्ने परम्परा छ । यस दिनमा बिहान नुहाइ धुवाइपछि जौं, तील र कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।
मधेशी समुदायहरु रक्षाबन्धन पर्व मनाउने गर्दछ । दिदीवहिनीहरुले आफ्ना दाजु(भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । रक्षा बन्धन दुई शब्दहरू मिलेर बनेको छ, रक्षा र बन्धन ।
संस्कृत शब्दावलीको अनुसार यसको अर्थ सुरक्षाको गाँठो हुन्छ। यो चाड दाजुभाइ(दिदिबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो। यो केवल रगतको सम्बन्ध मात्र नभई आफूले दिदीबहिनी या दाजुभाइ मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ। यस दिन, दिदीबहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसीको प्रार्थना गर्न आफ्ना दाजुभाइको हातमा रक्षा बन्धनको धागो बाँधिदिने चलन छ। त्यसै गरि दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिन्छन् र आफ्ना दिदीबहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन् ।
Categorized in संस्कृति