arin enterprises

थिमिको ऐतिहासिक भैलः नाच सुरु

SamacharDesk | २०७९ श्रावण २९, आइतबार

भक्तपुर थिमिको ऐतिहासिक लायकु भैलः नाच अर्थात् भैरव नाच हिजोबाट सुरु भएको छ ।

गाईजात्राको भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलमा नाच प्रदर्शन गर्ने परम्परा रहेको छ । लायकू भैलःसँगै यो वर्ष दिगुटोलमा महांकाली, बोडेमा निलबाराही, ईन्द्रअप्सरा, भस्मासुर र अष्टमातृको गणको नाच पनि प्रदर्शन भइरहेको छ ।

थिमिको तत्कालीन दरवारबाट निकालिने भएर मध्यकालदेखिको इतिहास बोकेको लायकू भैलःलाई राजकीय सम्मान दिइएको छ । ने.सं ६३३ सालमा भक्तपुरमा अनिकाल पर्दा राजा सुवर्ण मल्लले नवदुर्गा गण नाच, बोडेको निलबाराही तथा थिमिको लायकु भैलः र महाकाली नाच सुरुआत गरेका हुन् ।

किंवदन्ती अनुसार थिमिमा भूतप्रेत, दैत्य र दानवहरुले दुःख दिन थालेपछि आराध्यदेवी बालकुमारीको पूजा आराधना गरी देवीकै आज्ञा बमोजिम नाच सुरु गरेको हो । भैरव नाचमा बेताल एक, भैरव दुई, कुमारी दुई गरी जम्मा ५ देवगणहरुको सहभागिता रहन्छ ।

शनिबारदेखि सुरु भएको नाच प्रत्येक राती करिव ८:३० बजेदेखि सुरु हुन्छ । ऐतिहासिक र धार्मिक महत्व बोकेको भैरव नाचको अवलोकन गर्न उपराष्ट्रपति नन्दबहादुर पुन हिजो मध्यपुर थिमि पुग्नु भएको थियो ।

मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा थिमिको बालकुमारी पुग्नुभएका उहाँले एक घण्टासम्म नाच अवलोकन गरेका हुन् । ऐतिहासिक र धार्मिक महत्व बोकेको नाचलाई प्रदर्शन गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले मध्यपुर पर्यटन विकास र प्रबद्र्धन फोरम समेत गठन गरिएको छ ।

फोरमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, वाग्मती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री, सामान्य प्रशासनमन्त्रीदेखि गुठी संस्थानका प्रमुखलाई नाच अवलोकलन गर्न औपचारिक रुपमा निम्तो दिएको छ ।

यो वर्ष नाच अवलोकनको लागि आउने पर्यटकको लागि स्थानिय स्तरका पसल तथा बास बस्नको लागि होटल र लगको व्यवस्थापन गरिएको छ ।

Categorized in संस्कृति