भूमिहिनहरूकाे हक दिलाई छाड्ने अध्यक्ष प्रजापतिकाे प्रतिवद्धता
SamacharDesk – बिराज | २०७९ श्रावण २९, आइतबार

भूमि आयोग काठमाडौं जिल्लाका नवनियुक्त अध्यक्ष श्यामकृष्ण प्रजापतिले कार्यक्षेत्रमै सक्रियता देखाउन थालेका छन् ।
यसै क्रममा अध्यक्ष प्रजापतिले काठमाडौं महानगपालिका वडा नम्बर १२ स्थित खोल्चापाखाका भूमिहिन स्थानीय वासिन्दासँग भेटेर छलफल गरेका छन् ।
खोल्चापाखाका करीब ३५ भूमिहिन घरपरिवारसँग भेटेर प्रजापतिले छलफल गरेका हुन् । सो अवसरमा काठमाडौंको खोल्चापाखाकै रैथाने भूमिहिन घरपरिवारले प्रजापतिलाई आफुहरुले भोग्दै आएका समस्याको बारेमा जानकारी गराएका थिए ।
आफुहरु पुस्तौंदेखि सो स्थानमा बसोबास गर्दै आएतापनि भूमिको पूर्जा नपाउँदा राज्यले दिएको आधारभूत आवश्यकतासम्म पनि उपभोग गर्न नपाएको उनीहरुले बताएका थिए ।
‘उहाँहरु सो स्थानमा बस्दै आउनुभएको सयौं वर्ष भइसकेको रहेछ । पुर्ख्याैली भूमिकै पूर्जा पनि नपाउँदा उहाँहरुले खानेपानी, विद्युत आदि खालका सुविधा उपभोग गर्न पनि समस्या भोग्दै आउनुभएको थाहा पाएँ’ अध्यक्ष प्रजापतिले भने ।
सबैको भोगाई सुनिसकेपछि प्रजापतिले वास्तविक भूमिहिनहरुलाई कुनै पनि हालतमा हक दिलाइ छाड्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सो अवसरमा नेकपा (एस) का काठमाडौं महानगर समिति अध्यक्ष रामेश्वर श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा १२ का अध्यक्ष बालकृष्ण महर्जन, वडा सदस्य पुष्परत्न प्रजापति, श्यामकृष्ण खड्गीलगायतको पनि उपस्थिती रहेको थियो ।
