ललितपुरमा भीमसेन जात्रा सम्पन्न
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ भाद्र ४, शनिबार

ललितपुरमा हरेक वर्ष भाद्र कृष्ण नवमी अर्थात कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने भिमसेन जात्रा आज सम्पन्न भएको छ । आज ललितपुरमा मंगलबजारस्थित मन्दिरमा रहेका भिमसेन महाराजलाई खटमा राखी नगर परिक्रमा गर्दै जात्रा सम्पन्न भएको हो ।
खट यात्रा पूर्व भीमसेनको सानो प्रतिमालाई मन्दिरको गर्भगृहबाट निकाली मन्दिर अगाडिको डबलीमा राखिएको थियो । त्यस बेला दर्शनका लागि ललितपुरको साथै काठमाडौं उपत्यका र विभिन्न स्थानबाट भक्तजनहरु पुगेका थिए ।
त्यसपछि मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइएको हो । भीमसेनको खट यात्रा शुरु गर्नु अघि भीमसेनको प्रतिमालाई पट्कोका राजोपाध्यायहरुले कमलको फूल चढाइ पूजा गर्ने परम्परा रहेको छ ।
पाटनको पट्को टोलका राजोपाध्याय देव ब्राह्मणबाट उक्त प्रतिमालाई कमलको फुल चढाई पूजा गरेपछि मात्रै गर्भगृहबाट निकाल्न मिल्ने परम्परा रहेको पट्को निवासी देव ब्राह्मण रक्षण राजोपाध्यायले समाचारडेस्कलाई बताए ।
“मंगलबजारमा रहेको भीमसेन महाराजको मुर्तिमा पट्कोकै राजोपाध्याय देव ब्राह्मणहरुले प्राण प्रतिष्ठा गरेको हो । त्यसैले यो पूजा हालसम्म पनि हामीले नै निरन्तरता दिँदै आएको हो” राजोपाध्यायले भने ।
मंगलबजारबाट शुरु भएको खट यात्रा हःखाबाट सौगल हुँदै सुन्धारा, महाबौद्ध, ओकुबहाल, थैना, चक्रबहिल, टङ्गल, हौगल, तिच्छुँगल्ली, इखालखु, जेनबहाल, वलाबाट पुर्णचण्डी पुगेको थियो । फेरी खट यात्रा पूर्णचण्डीबाट अघि बढ्दै प्यंगःथांबाट पिम्बहाल हुँदै बालिफल, नकबहिल, क्वालखु, झटापोल, कुम्भेश्वर, स्वथबाट मंगलबजारमै पुगेर सम्पन्न भएको थियो ।
बाजागाजासहित भक्तजनहरु भीमसेन भीमसेन हाइ हाइ, भीमसेन महाराजकि जय भन्दै हर्षउल्लासपूर्वक जात्रामा सहभागी भएका थिए । जात्राको यो वातावरण निकै जोशिलो र उल्लासमय देखिएको थियो ।
जात्रामा यो हर्षोल्लास भने दुई वर्ष पछि मात्र आज हेर्न पाइएको हो । कोरोना महामारीको अवस्थामा दई बर्ष अघि जात्रा स्थगित भएको थियो भने गत बर्ष भने भीमसेनको मूर्ति मन्दिरको ढोकामा राखी सर्वसाधारणलाई पूजा र दर्शन मात्र गर्न दिइएको थियो ।
भीमसेन महाराजको खट यात्रा पूर्व पाटन दरबार क्षेत्रमा रहेको ऐतिहासिक भिमसेन मन्दिरमा अघिल्लो रात अर्थात भाद्र कृष्णाष्टमीको रातदेखि नै भक्तजनहरु पूजाआजाका लागि घुँइचो लाग्ने गर्छ ।
भीमसेनको पूजाका लागि ललितपुरको साथै काठमाडौं, भक्तपुर, थिमि, कीर्तिपुर लगायत उपत्यका वरपरका विभिन्न स्थानबाट ठुलो संख्यामा भक्तजनहरु आउने गर्छन् । यस क्रममा विशेष गरेर व्यापारीहरुको संख्या ठुलो रहने गर्दछ ।
भक्तजनहरुले पञ्चमकारसहित सम्हयबजि चढाएर बलिसमेत दिइ भीमसेन महाराजको पूजा गर्ने गर्दछ । ललितपुरमा भीमसेन जात्रा सम्पन्न पछि मात्र सापारु अर्थात गाईजात्राको सम्पूर्ण गतिविधि पनि सम्पन्न हुने गर्छ ।
भीमसेनलाई नेवाः समुदायमा मात्र नभई सम्पूर्ण व्यापार व्यवसायीहरुको आराध्यदेवका रुपमा पुजिने गर्छ । त्यस्तै आजको दिनमा भीमसेनको पूजा गर्नाले व्यापार व्यवसाय फस्टाउने जनविश्वास रहिआएको छ ।
Categorized in संस्कृति