arin enterprises

सप्तपाताल पोखरी पुनर्स्थापना गर्ने मेयर महर्जनको दावी

SamacharDesk – बिराज | २०७९ भाद्र ७, मंगलबार

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको सप्तपाताल पोखरी पुनर्स्थापना गर्नुका साथै राजकुलोलगायतका सम्पदाको संरक्षण गर्ने बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ४२औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले ललितपुरमा पानीसँग सम्वन्धित सम्पदाको संरक्षण गर्नुका साथै सम्पूर्णमा ललितपुर महानगरबासीको धाराबाट खानेपानी दिने दावी गर्नुभयो ।

‘ललितपुर महागनरभित्र पानी किनेर खानुपर्ने अवस्थाको अन्त्य गर्नेछु, महानगरबासी प्रत्येकको घरको धाराबाट पानी झार्नेछु । म आफ्नो दायित्त्वबाट पछि हट्ने छैन’ महानगर प्रमुख महर्जनले भने ।

कार्यक्रममा विभागबाट स्नातकोत्तर तहमा उत्तीर्ण विद्यार्थीहरुलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गरिएको थियो । सात वर्ष पछि मनाइएको विभागको वार्षिकोत्सवमा ४ वर्षसम्मका विभिन्न पुरस्कारहरु एकैपल्ट प्रदान गरिएको थियो ।

नेपाल सम्वत ११३६ देखि ११३९ सम्मको पियुष पदक पनि सोही कार्यक्रममा प्रदान गरिएको थियो । त्यसैगरी नेपाल सम्वत ११३७ देखि ११३९ सम्मको योगवीरसिं अनुसन्धान वृत्ति पनि प्रदान गरिएको थियो ।

नेपाल सम्वत ११३६ देखि ११३९ सम्मको स्नातकोत्तर तहमा प्रथम, दोश्रो र तेश्रो हुने विद्यार्थीहरुलाई श्रेष्ठ पदक पनि सोही कार्यक्रममा दिइएको थियो । पुरस्कृत सम्पूर्णलाई महानगर प्रमुख महर्जनले पुरस्कार प्रदान गर्नुभयो ।

सोही कार्यक्रममा महर्जनले विभागको सिफारीश अनुसार विभागका ५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा पनि गर्नुभयो ।

ललितपुर महानगरका स्थानहरुको मौलिक र प्राचीन नामको अध्ययन अनुसन्धान थाल्ने घोषणा गर्दै महर्जनले यस काममा नेपालभाषा केन्द्रीय विभागसँग सहकार्य गर्ने पनि बताउनुभयो ।

सोही कार्यक्रममा विभागको ‘नेपालभाषा जर्नल’ र रविन श्रेष्ठबाट लिखित ‘समाज भाषाविज्ञानया छुं’ पुस्तकको पनि लोकार्पण गरिएको थियो ।

विभागीय प्रमुख डा. राजनलाल जोशी (रास) ले भाषा आयोगले वागमती प्रदेशको कामकाजी भाषाको रुपमा नेपालभाषालाई सिफारीस गरेकोमा यसलाई व्यवहारीक रुपमा लागू गर्न कानून बन्नुपर्नेमा जोड दिए ।

भाषा सम्वन्धि कानून निर्माणमा विभागले सहयोग गर्न सक्ने जोशीले बताउनुभयो ।

आफु विभागीय प्रमुख भएर आएपछि अध्ययनको सहज वातावरण बनाउनलाई आफु लागि परेको र आफ्नो दायित्त्व निर्वाह गर्दै वर्षौंदेखि रोकिएका पुरस्कारहरु वितरण गर्न शुरु गरिएको पनि जोशीले बताए ।

विभागबाट केही दिन अघि मात्रै पाँच वर्षदेखि रोकिएको चैन लाकौल पुरस्कार र लाकौल पुरस्कार पनि वितरण गरिएको थियो ।

विभागका स्थापना आजभन्दा ४२ वर्ष अघि नेपाल सम्वत ११०० मा भएको थियो ।

डिग्रि बाइ डेजर्टेसनबाट नेपालभाषामा स्नातकोत्तर शिक्षाको शुरुवात गरेको विभागमा हाल स्नातकोत्तर तहको साथै एम.फिल पिएच.डी कोर्शको पनि नियमित कक्षा सञ्चालन भइरहेको छ ।

Categorized in समाज