arin enterprises

बौद्ध धर्मावलम्बीहरु पञ्चदान पर्व मनाईंदै

SamacharDesk | २०७९ भाद्र ९, बिहिबार

प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्व दर्साउने पञ्चदान पर्व आज मनाइँदै छ ।

काठमाडौंसँगै भक्तपुर, मध्यपुर, थिमी, कीर्तिपुर, काभ्रेको नाला, बनेपा र चीनको ल्हासामा समेत पञ्चदान पर्व मनाइँदै आएको छ ।

यस पर्वमा बौद्धमार्गी नेवारले आफ्नो वरपर रहेका विभिन्न विहार, बही, चोक र घरमा दानशाला बनाई अन्न, फलफूल र दक्षिणा दान दिन्छन् ।

बुद्ध धर्मका अनुयायी बज्राचार्य, बुद्धाचार्य, शाक्यलगायत अन्न, फलफूल र दक्षिणा दान लिन दिनभर भिक्षाटनमा सहभागी हुन्छन् ।

आजको दिन दिनभरजसो भिक्षा लिनेहरु बौद्ध विहार, बही आदिमा गई भिक्षा दिने गर्दछ । आजको दिन स्वयम्भूमा पनि विहानैदेखि दर्शनार्थीहरुको घुँइचो लाग्ने गर्दछ ।

दर्शनार्थीहरु अन्न, फलपूmल आदि स्वयम्भूमा गई दान गर्ने गर्दछ । त्यस्तै भक्तपुरमा पनि पञ्चदान फरक र विशेष प्रकार मनाउने गरिन्छ ।

भक्तपुरमा ऐतिहासिक तथा पुरातात्विक महत्वका पाँचवटा महाविहारमा विराजमान दीपंकर बुद्धहरुलाई नगर परिक्रमा गराइएर पञ्चदान पर्व मनाइन्छ ।

दीपंकर बुद्ध यात्राको क्रममा परम्परागत गुँला धाः बाजा, दाफा भजन श्रृङ्गभेरी बाजा आदि सांगीतिक समूहहरुले आआफ्नो बाजाको प्रदर्शनी गर्ने प्रचलन रहेको छ ।

त्यस्तै परम्परागत विहार र बहीहरुमा संरक्षित बौद्ध सम्पदाहरुको प्रदर्शनसमेत गरिन्छ ।

बौद्धमार्गीहरुले आफू बुद्धका अनुयायी भएको कारण आफूले आर्जन गरेको आयको केही अंश दानका लागि राख्ने र सोही दान पञ्चदान पर्वमा दान गर्ने प्रचलन रहँदै आएको छ ।

Categorized in संस्कृति