arin enterprises

महानगरपालिकाले खाद्यवस्तुमा कडाई गर्ने

SamacharDesk | २०७९ भाद्र १३, सोमबार

काठमाडौं महानगरपालिकाको आइतबार बसेको नगर कार्यपालिकाको बैठकले महानगरमा खाद्य निरीक्षक राख्ने निर्णय गरेको छ ।

महानगरपालिकाले खाद्य पदार्थको अनुगमन गर्न खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने भएको छ ।

बैठकमा मेयर बालेन साहले फुड टेक्नोलोजीमा स्नातकोत्तर गरेका ४ देखि ५ जना फुड इन्सपेक्टर राख्ने प्रस्ताव गरेका थिए । जसलाई कार्यपालिका बैठकले अनुमोदन गरेको हो ।

खाद्य निरीक्षकले मासु पसल र खाद्य पदार्थको पसलहरु अनुगमन गर्नेछ । त्यसैगरी  महानगरपालिकाले ५ जना कानुनी सल्लाहकार राखेको छ ।

मेयर बालेनले डिना श्रेष्ठ, शंकर पुडासैनी, ओमप्रकाश अर्याल, महेश नेपाल र कुमारी खरेललाई कानुनी सल्लाहकारमा प्रस्ताव गरेका थिए ।

यसअघि महानगरले ४ जना कानुनी सल्लाहकार राखेको थियो । महानगरका प्रवक्ता नविन मानन्धरले मेयर, उपमेयर र वडाध्यक्षको छलफलबाट कानुनी सल्लाहकारको नाम छनोट गरिएको जानकारी दिए ।

यसैगरी काठमाडौं महानगरपालिकाले ३२ वटै वडाका स्वास्थ्य केन्द्रमा कम्तिमा एक जना फिजिसियन डाक्टर र एक जना नर्स राख्ने भएको छ ।

स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै सबै वडामा क्लिनिक सञ्चालन गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।

एमबीबीएस डाक्टर नै राख्ने तयारी गरिएकोमा जनरल फिजिसियन राख्ने सुझाव आएकाले त्यही प्रस्ताव पारित गरिएको र त्यसबाट स–साना समस्याका लागि अस्पताल धाउनुपर्ने बाध्यता हट्ने मेयर बालेन्द्र शाहले बताउनु भएको छ ।

Categorized in समाज