arin enterprises

पाकिस्तानमा बाढीपहिरोबाट मर्नेहरु बालबालिका अधिक

SamacharDesk | २०७९ भाद्र १४, मंगलबार

पाकिस्तानमा केही सातादेखि परेको अविरल वर्षाका कारण बाढी पहिरोमा परी कयौंको ज्यान गएको छ भने हजारौं घरबारविहीन भएका छन् ।

विनाशकारी बाढीले सडकहरू बगाइदिएको छ भने घरहरू तथा बालीनाली नष्ट गरिदिएको र जताततै विध्वंस मच्चिएको छ ।

जुनमा मनसुन लागेयता पाकिस्तानमा ज्यान गुमाउनेहरूको संख्या  एक हजार एक सय ३६ पुगिसकेको अधिकारीहरूले बताएका छन् ।

यसपालिको वर्षा एक दशकयताकै सबभन्दा भीषण भएको बताइएको छ । बितेको २४ घण्टामा मात्र ७५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

उक्त संख्या अझै बढ्न सक्ने बताइएको छ । बाढीबाट मारिनेमध्ये एकतिहाइ बालबालिका भएको आँकलन गरिएको बीबीसीले उल्लेख गरेको छ ।

करिब तीन करोड ३० लाख पाकिस्तानीहरू बाढीबाट प्रभावित भएको अधिकारीहरूले अनुमान गरेका छन् । यसको अर्थ प्रत्येक सात जनामध्ये एक पाकिस्तानी नागरिक बाढीले प्रभावित छन् ।

Categorized in अन्तर्राष्ट्रिय