arin enterprises

समाचारडेस्कका सम्पादक राजोपाध्याय सम्मानित

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ भाद्र १९, आइतबार

समाचारडेस्क डट कमका सम्पादक बिराजकाजी राजोपाध्याय लहना धर्म मोती पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

नेपालभाषाको रंगीन साप्ताहिक ‘लहना वाःपौ’ को चार सय अङ्क प्रकाशनको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्पादक राजोपाध्यायलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो ।

कोभिड महामारीका कारण विगत दुई वर्ष अगाडीबाट वार्षिकोत्सव मनाउन नपाएको लहनाले यस वर्ष तीन वर्षकै उत्सवलाई एकैपल्ट मनाउँदै तीन वर्षकै सम्मानहरु प्रदान गरिएको थियो भने राजोपाध्यायलाई नेपाल सम्वत ११४१ वर्षका लागि उक्त सम्मान प्रदान गरिएको थियो ।

त्यस्तै नेपाल सम्वत ११४० का लागि गोरखापत्रकर्मी प्रजित शाक्यलाई सम्मानित गरियो भने ११४२ का लागि मेरो साप्ताहिकका सम्पादक रत्नकाजि महर्जनलाई पुरस्कार प्रदान गरियो ।

सम्मानित तीनै जनालाई लहना मिडियाका व्यवस्थापक सुरेन्द्र भक्त श्रेष्ठले माला लगाइदिए भने लहना साप्ताहिकका प्रकाशक नृपेन्द्रलाल श्रेष्ठले पदक लगाइदिए ।

वागमती प्रदेशका सांसद राजेश शाक्यले दोसल्ला ओढाइदिँदा नेपालभाषा आकेदमिका उप कुलपति यज्ञरत्न धाख्वाःले सम्मान पत्र प्रदान गरे ।

राशी पुरस्कारको रकम भने दाता लक्ष्मण गमालले प्रदान गरेका थिए । पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।

सोही कार्यक्रममा यस पुरस्कारको साथमा नेपाल सम्वत ११४०, ४१ र ४२ का लागि लहना सर्मिष्ठा सुर सम्मान, लहना पञ्चवीर पुरस्कार, लहना न्यू जेनिथ फोटो पत्रकारिता पुरस्कार र लहना केशव कृष्णवदन मातृभाषा पत्रकारिता पुरस्कार पनि प्रदान गरिएको थियो ।

लहना सर्मिष्ठा सूर सम्मानतर्फ ११४० का लागि कलाकार, निर्देशक रामकृष्ण खड्गी, ११४१ का लागि कलाकार, संचारकर्मी स्वतन्त्र संसार महर्जन र ११४२ का लागि गोरखापत्रकी सिने पत्रकार यलु जोशीलाई प्रदान गरियो ।

यो पुरस्कार समाजसेवी सूर बहादुर श्रेष्ठले आफ्नी दिवंगत पत्नीको नाममा स्थापना गरेका थिए ।

समाजसेवी पञ्चबीर सिंह तुलाधरबाट स्थापित लहना पञ्चवीर पुरस्कारतर्फ ११४० का लागि नेवाः अधिकारको क्षेत्रमा निरन्तर सक्रिय अधिकारकर्मी मल्ल के. सुन्दर, ११४१ का लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ र काठमाडौं महानगरपालिकाका निवर्तमान महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई सम्मान गरियो ।

मन्त्री श्रेष्ठलाई शिक्षा विधेयकमा संशोधन गराई मातृभाषा शिक्षा सुनिश्चित गरेको र काठमाडौं महानगरका विद्यालयहरुमा स्थानीय मातृभाषा नेपालभाषाबाट स्थानीय पाठ्यक्रम लागू गरेको भन्दै निवर्तमान महानगर प्रमुख शाक्यलाई यो पुरस्कार प्रदान गरिएको थियो ।

फोटो पत्रकारलाई प्रदान गरिने लहना न्यू जेनिथ फोटो पत्रकारिता पुरस्कार नेपाल सम्वत ११४०, ११४१ र ११४२ का लागि क्रमशः फोटो पत्रकारत्रय अनुप प्रधान, गुणराज शाक्य र श्याम कुमार थालाई सम्मानित गरियो ।

लहना केशव कृष्णवदन मातृभाषा पत्रकारिता पुरस्कारतर्फ ११४० का लागि नेवाः टेलिभिजन एचडीका नविन कुमार जोशी, ११४१ का लागि न्हूगु ज्वजलपा वाःपौका नजर राम महर्जन र ११४२ का लागि हाल रेडियो नेसन्समा कार्यक्रम संचालन गरिरहेकी संचारकर्मी पुर्णिमा डंगोल शाक्यलाई प्रदान गरियो ।

लहना टेलिभिजन संचालन हुने

कार्यक्रममा बोल्दै लहना मिडियाका व्यवस्थापक सुरेन्द्र भक्त श्रेष्ठले लहना टेलिभिजन संचालन गर्ने घोषणा गरेका थिए ।

लकडाउनको समयमा नेवाः टिभिमा लहना गतिविधि, लहना साहित्य कार्यक्रम संचालन गरेको अनुभव सुनाउँदै लहनाको आफ्नै टेलिभिजन च्यानल संचालनको लागि आफुहरु अघि बढेको श्रेष्ठले बताए ।

त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्रेष्ठले गणतन्त्र नेपालमा सबै जातजातिले आआफ्नो मातृभाषामा पढ्न पाउनुपर्ने भनेर आफुले शिक्षा विधेयकमा संशोधन प्रस्ताव राखेको बताउनुभयो ।

‘पहिला सम्वन्धित समुदायले नै विद्यालय खोली आफ्नो मातृभाषामा पढ्न पाउने भनेर उल्लेख गरिएको थियो । यस अनुसार त मातृभाषिहरुले आफ्नो मातृभाषामा शिक्षा लिन आफैंले स्कूल खोल्नुपर्ने भयो’ श्रेष्ठले भने, ‘अब शिक्षा विधेयक संशोधन पछि राज्यले नै पढाउनुपर्ने भएको छ र यसको शुरुवात पनि भइसकेको छ ।’

यसैगरी काठमाडौं महानगरका निवर्तमान प्रमुख शाक्यले आफु पदमा आफ्नो कर्तव्य मात्र पूरा गरेको बताए ।

‘स्थानीय भाषा, कला, साहित्य, संस्कृतिको संरक्षणको लागि स्थानीय भाषाको संरक्षण नभई सम्भव छैन । मैले यहाँका भाषा, कला, साहित्य, संस्कृतिको संरक्षणको लागि आफ्नो दायित्त्व पूरा गरेको हो’ शाक्यको भनाई थियो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्यले अहिले पत्रकारिता क्षेत्रमै चुनौती थपिँदै गएको अवस्थामा मातृभाषा पत्रकारिता क्षेत्रमा झन ठुलो समस्या रहेको विचार राखे ।

लहना साप्ताहिकका प्रकाशक श्रेष्ठले मातृभाषा पत्रकारिता क्षेत्रमा व्यावसायिकताको विकास नै लहनाको उद्देश्य रहेको प्रकाश पारे ।

Categorized in समाज