arin enterprises

म्हयपिक्व त्वाःखलःकाे २५औं वार्षिकोत्सव सम्पन्न

SamacharDesk – बिराज | २०७९ भाद्र १९, आइतबार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले काठमाडौं उपत्यकाका संस्कृति सभ्यताको संरक्षणमा स्थानीय समुदायको योगदान ठुलो रहेको बताउनुभएको छ ।

काठमाडौंको म्हयपिक्व त्वाः खलःको २५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले नेवार सभ्यताकै कारण नेपाल विश्वमा पौराणिककालदेखि अस्तित्वमा रहेको उल्लेख गर्दै नेवार समुदाय आज पर्यन्त आफ्नो धर्म संस्कृतिको रक्षामा योगदान दिँदै आएको बताउनु भयो ।

शनिवार म्हयपिमा एक कार्यक्रमको आयोजना गरी खलःले आफ्नो २५ औं वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा मन्त्री श्रेठले खलःको स्मारिकासमेत विमोचन गरेका थिए ।

यसैगरी काठमाडौं क्षेत्र नं. ७ बाट निर्वाचित एमालेका तर्फबाट संघीय सांसद रामवीर मानन्धरले म्हयपिक्व त्वाः खलःको स्थापनादेखि नै आफू हरेक गतिविधिमा सहभागी हुँदै आएको स्मरण गर्दै त्वाःखलःलाई आवश्यक सहयोग गर्न आफू हरदम तत्पर रहेको प्रतिवद्धता प्यक्त गरे ।

वागमति प्रदेशका सिंचाइ तथा उर्जामन्त्री बसन्त मानन्धरले म्हयपिक्व त्वाः खलःको सामाजिक गतिविधिहरुको प्रशंसा गर्दै अबका दिनमा स्थानीय जन समुदाय राजनीतिक रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

आफुले विविध संस्कृति संरक्षणका लागि बजेट छुट्याउँदा प्रदेशसभा सदस्यहरुले समेत हाँसोमा उडाएको तर आज विभिन्न क्षेत्रमा बाजा वितरणको कार्य भएकोमा मन्त्री सांसदले खुसी व्यक्त गरे ।

यसैगरी काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उपत्यकाको संस्कृति तथा सम्पदाको संरक्षण र संवर्ध्दनका लागि महानगरपालिका सदैव तत्पर रहेको बताइन् ।

खलःका अध्यक्ष बाबुराजा प्रजापतिले सुरुमा १७ घर परिवारबाट सुरु गरिएको त्वाःखलःमा अहिले ५५ घर परिवार सहभागी रहेको जानकारी गराए ।

कार्यक्रममा म्हयपि योगध्यान केन्द्र, लाहुर्निपका प्रतिनिधि तथा स्थानीय गन्यमान्य व्यक्तित्वहरुकोसमेत उपस्थिति रहेको थियो ।

२५ औं वार्षिकोत्सवका अवसरमा आयोजित औपचारिक कार्यक्रमपश्चात् विभिन्न कलाकारहरुले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । 

Categorized in समाज