arin enterprises

बुटवलबाट हराएका विद्यार्थी अर्धचेत अवस्थामा फेला

SamacharDesk | २०७९ भाद्र २६, आइतबार

गत शुक्ररबारदेखि हराएका बुटवलका तीन जना विद्यार्थी भारतको मुम्बइमा फेला परेका छन् । मुम्बइको केरला रेलवे स्टेशनमा गए राती दुई बजे उनीहरु तीनै जना अर्धचेत अवस्थामा फेला परेका पारिवारिक स्रोतले बताएको छ ।

शुक्रबार विहान विद्यालय जान भनी घरबाट हिँडेका उनीहरु विद्यालयमा हाजिर समेत नभएको अवस्थामा वेपत्ता थिए । बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगरका १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र  १६ वर्षीय समीर लम्साल शुक्रबारदेखि बेपत्ता भएको आफन्तहरूले जनाएका थिए।

तीमध्ये लम्साल र पौडेल बुटवलको–११ देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर माविको कक्षा ९ मा र  पन्थी  नहरपुर माविको कक्षा ८ मा अध्ययनरत थिए । शुक्रबार विद्यालय जान्छौँ भनेर हिँडेका बालक सम्पर्कमा नआएपछि आफन्तले खोजतलासका लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका थिए ।

मुम्बइमा उनीहरु फेला परेका खबर पाएपछि उद्धारका लागि नेपाल प्रहरीलाई लिएर जाने तयारी भईरहेको अभिभावकहरुले बताएका छन । उनीहरुलाई कसले मुम्बइ पुर्यायो भन्ने केही थाहा नभएको अभिभावकहरुले बताएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलले उनीहरुलाई सहज तरिकाले नेपाल ल्याउन र कसले त्यहाँ पुर्याएको हो भन्ने पत्ता लगाउने काममा प्रहरी लागेको बताएको छ ।

पछिल्लो समय तराईका विभिन्न जिल्लाबाट नेपाली विद्यार्थीहरु अपहरण गरेर भारत लैजाने गरिएको विषय सामाजिक सञ्जालमा फैलिएका बेला यो घटना भएको हो ।

Categorized in समाज