arin enterprises

न्यून आयका समुदाय लक्षीत अत्याधुनिक शौचालय निर्माण

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ भाद्र ३१, शुक्रबार

 काठमाडौं महानगरपालिका २० वडा भिमसेनस्थानमा २५ वर्ष पुरानो जीर्ण सार्वजनिक शौचालयलाई अत्याधुनिक शौचालयमा स्त्तरोन्नती गरिएको छ ।

भीमसेनस्थानस्थित परोपकारमा रहेको शौचालयलाई का.म.पा. वडा नं २० र एरोसान सस्टेनेवल स्यानिटेशनको हातेमालोमा पुनर्निर्माण गरिएको हो ।

शौचालयको पुनर्निर्माण सम्पन्न भएसँगै एक कार्यक्रमका बीच कामपा वडा नं. २० का वडा अध्यक्ष राजेन्द्र मानन्धरले शौचालयको समुद्घाटन गर्नुभयो ।

शौचालयको समुद्घाटन पछि संचारकर्मीहरुसँग कुरा गर्दै वडाध्यक्ष मानन्धरले वडाको विकास र समृद्धिका लागि आवश्यक कार्यहरु वडाले गर्दै आएको र यसै क्रममा २५ वर्ष पुरानो जीर्ण र अव्यवस्थित सार्वजनिक शौचालयको पुनर्निर्माण गरेको बताए ।

‘‘वडावासिको सहजताका साथै दैनिक यस क्षेत्रबाट आवत जावत गर्ने मानिसहरुलाई सुविधा सम्पन्न शौचालयको सुविधा दिनु महानगरको दायित्व हो भने आगामी दिनहरुमा पनि आवश्यक्ता अनुरुप शौचालय निर्माण व्यवस्थापन तथा पुनर्निर्माणका कार्यलाई महानगरले प्राथिमकता दिनेछ’’ अध्यक्ष मानन्धरले भने ।

कार्यक्रममा उपस्थित काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सार्वजनिक शौचालयको अवलोकनको क्रममा शौचालयमा प्रयोग भएका वातावरणमैत्री प्रविधिका बारेमा विशेष चासो देखाउँदै शौचालय व्यवस्थित भएको बताए । साथै काठमाडौं महानगरपालिका भित्र थप यस्ता शौचालयहरु निर्माण गर्नुपर्ने उनले जोडे ।

शौचालयमा आकासेपानी संकलन र पुनर्भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न आवश्यक बजेट विनियोजन गरेको जानकारी दिँदै शौचालयलाई सिकाई केन्द्रको रुपमा विकास गर्न सकिने सुझाव महानगर प्रमुख शाहले दिए ।

एरोशानका कार्यकारी प्रमुख प्रकाश अमात्यले शौचालयमा दैनिक १ हजार लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता भएको प्रविधि प्रयोग गरिएको छ ।

मानव मलमुत्रलाई शौचालयमै व्यवस्थापन गरि वायोग्याँस उत्पादन गर्न १० घन मिटरको वायो ग्याँस प्लान्ट शौचालय परिसरमै निर्माण गरि वातावरण मैत्री बनाउन अहम भुमिका खेलेको बताए ।

एरोसान सस्टेनेबलले सन् २०२० देखि २०२२ सम्ममा काठमाडौं महानगरपालिकामा ४ वटा र ललितपुर महानगरपालिकामा २ वटा गरि जम्मा ६ वटा अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याईसकेको छ ।

Categorized in समाज