अछाम र कैलालीमा बाढीबाट प्रभावित उद्धारको पखाईमा
SamacharDesk | २०७९ आश्विन २, आइतबार

अछाममा बाढी तथा पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
पछिल्लो विवरण अनुसार तुर्माखाद गाउँपालिकामा ४ जना, कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँटीखादमा ७ जना, कमलबजार नगरपालिका वडा नम्बर ८ मा ५ जना र ढकारी गाउँपालिकामा १ जना गरेर १७ जनाको बाढी तथा पहिरोमा परेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार १७ जनाको शव भेटिए पनि अझै ६ जना बेपत्ता रहेका छन् । नेपाली सेनाको हेकिकोप्टरद्वारा बाढी तथा पहिरोमा घाइते भएका ११ जनाको उद्धार गरी उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यलय अछामले जनाएको छ ।
अविरल वर्षाका कारण कैलालीको पूर्वी क्षेत्रका ५ सय बढी घर डुवानमा परेका छन् । तीन दिनदेखि परेको वर्षाका कारण पूर्वी क्षेत्रका ५ सय बढी घर डुवानमा परेका हुन् ।
जिल्लाको भजनी नगरपालिका ८ स्थित पथरैया नदीको पानीको सतह बढेर सोनाफाटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका १ सय ६० घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
विस्थापित व्यक्तिहरू हुलाकी राजमार्ग, सडक, विद्यालय भवन, सुरक्षित भवन र पक्की घर भएका आफन्तहरूको छतमा बसिरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । घरबाट पानी ननिस्किएकाले विस्थापितहरू सहज रूपमा घरमा फर्कन सक्ने वातावरण अझै नरहेको जिल्ला प्रशासनले जानकारी दिनुभयो ।
Categorized in समाज