टुकुचा मिचेर बनाएका संरचना नभत्काउन उच्च अदालतको आदेश
SamacharDesk | २०७९ आश्विन ३, सोमबार

पाटन उच्च अदालतले टुकुचा खोला मिचेर बनाएका संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ ।
प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो ।
गत विहीबार महानगरले जय नेपाल हलको कम्पाउन्ड भत्काएर टुकुचा खोला फेला पारेको थियो । इच्छुमति खोलाले चिनिने टुकुचा खोला संरक्षणका लागि चालेको कदम अनुरुप गत साउन १२ गते काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो ।
काठमाडौं हालसम्म जय नेपाल सिनेमा हल र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालेको थियो । अदालतले असोज ५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।
प्रक्रिया बमोजिम नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्र समेत लिएको देखिएकाले तत्काल संरचना नभत्काउन अन्तरकालीन आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिनुभयो ।
Categorized in स्थानीय