arin enterprises

मध्यपुर थिमि सहकारीको सांस्कृतिक सम्मान

SamacharDesk – बिराज | २०७९ आश्विन ९, आइतबार

भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाले सांस्कृतिक क्षेत्रमा योगदान दिएका ७ वटा समूहलाई सम्मान गरेको छ । संस्थाको १५ औं वार्षिक साधारणसभा कार्यक्रममा ती समूहहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा ऐतिहासिक निलबाराही गण प्याखं मध्यपुर बोडे, लायकू भैलः सञ्चालन समिति, महाकाली प्याखं व्यवस्थापन समिति दिगुटोल, थिमि गुंला बाजा खलः बज्राचार्य समुदाय, मध्यपुर थिमि गुंला बाजा प्रजापति समुदाय, येँयाः पुन्हिया लसताय् म्ये प्वाः खानीगु जात्रा व्यवस्थापन समिति तथा मानन्धर गुंला बाजा सिवा सायमि खलःलाई सम्मान गरेको हो ।

मध्यपुर क्षेत्रकै गौरव गर्न लायकको संस्कृतिलाई विकास, संरक्षण र प्रवद्र्धनमा टेवा दिएको भन्दै ती समूहहरुलाई सम्मान गरिएको हो । वाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाईँ मन्त्री बसन्त मानन्धरले दोसल्ला ओढाएर फूलमालासहित कदर–पत्र हस्तान्तरण गरी सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले सहकारी संस्थालाई नियमन, निरीक्षण र व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उहाँले रुस र युक्रेनबीचको युद्धको प्रभाव नेपालमा पनि पर्नसक्ने औंल्याउँदै त्यसको लागि वित्तीय संस्थाहरुले प्रतीकात्मक तयारी थाल्नुपर्नेमा जोड दिए ।

त्यस्तै, मध्यपुर थिमि नगरपालिका वडा नं. ८ का वडाध्यक्ष रमेश थापाले स्थानिय स्तरमा सञ्चालित सहकारीहरुमा मात्र बचत गर्न सम्पूर्ण सेयर सदस्यहरुलाई आह्वान गरे ।

कार्यक्रममा संस्थाको सन्तुलन परीक्षण रु. १९ करोड ८२ लाख ७२ हजार ९०२ रुपैयाँ १७ पैसा, चुक्ता पुँजी रु. १ करोड ६४ लाख ४० हजार ४ सय, बचत÷निक्षेप रु. १३ करोड ६६ लाख २४ हजार २६२ रुपैयाँ ३९ पैसा तथा ऋण÷कर्जा रु. १२ करोड ५९ लाख २० हजार २७४ रुपैयाँ रहेको तथा वित्तीय विवरणलाई कोपोमिस सफ्टवेयरको अनलाइन प्रविधिमार्फत अद्यावधिक गरिंदै आएको जानकारी दिइएको थियो ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिका ८ का वडाध्यक्ष रमेश थापा श्रेष्ठ, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी कार्यसमिति सदस्य कृष्णश्वर प्रजापति, मध्यपुर थिमि नगरपालिका सहकारी शाखाका प्रमुख सुरेश राई, सिवा सायमि खलःका अध्यक्ष मनोज लाल मानन्धरलगायतको उपस्थिती थियो ।

Categorized in बिजनेस