arin enterprises

बडा दशैंको चौथो दिन कुष्माण्डा देवीको पूजा गरिंदै

SamacharDesk | २०७९ आश्विन १३, बिहिबार

नेपाली तथा हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको आज चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथोे दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ ।

आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथोे देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लागेको जनाइएको छ ।

Categorized in संस्कृति