arin enterprises

कामपा २५ वडाले अदालतको अपहेलना गरेको बाङ्गेमुढाबासीको भनाई

SamacharDesk – बिराज | २०७९ आश्विन १३, बिहिबार

काठमाडौं महानगरपालिका २५ वडा कार्यालयबाट बाङ्गेमुढास्थित थाय्मदु त्वाःछेँ भवन २४ घण्टा भित्र खालि गर्न जारी सूचनाप्रति स्थानीय वासिन्दाले आपत्ति जनाएका छन् ।

वडा कार्यालयले आज (बिहिबार) २४ घण्टे सूचना जारी गर्दै त्वाःछेँ भवन खाली गर्न भनेपछि स्थानीय वासिन्दाले विज्ञप्ती जारी गर्दै आपत्ती जनाएका हुन् ।

अदालतमा मुद्दा विचाराधीन रहँदा रहँदै वडा कार्यालयले यसरी सूचना जारी गरेको भन्दै स्थानीय वासिन्दाले आपत्ती जनाएका हुन् ।

कामपा २५ वडा कार्यालयले आज विहान ११ बजे सूचना टाँस गर्दै साे भवनमा रहेकाे व्यापारिक पसल, संघसंस्थाकाे कार्यालय सम्पूर्ण हटाइ बाड्गेमुढास्थित त्वाःछेँ भवन खाली गर्न भनेको थियो ।

सूचना टाँस गर्न आएका वडाका प्रतिनिधिहरुले भवन खाली नगरे डोजरले भवन भत्काइदिनेसमेत भनेको स्थानीयले जानकारी दिएको छ ।

विगतमा २८ वडा कार्यालयसमेत राखिएको हाल २५ र साविक २५ वडा बाङ्गेमुढास्थित सो भवनको विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ ।

साेही भवनमा विगतमा नेपालभाषा मंकाः खलः, आदिवासी जनजाति महासंघको कार्यालयसमेत राखिएको थियो ।

वडा कार्यालयले उक्त भवन आफ्नो दावी गर्दै आएको छ भने स्थानीय वासिन्दाले उक्त भवन स्थानीय वासिन्दा मिलेर बनाएको समुदायको भवन भनी दावी गरिरहेका छन् ।

उक्त भवन बनाउन समुदायले पुर्‍याएको आर्थिक र अन्य सहयोगको विवरण रहेको शिलापत्र पनि सो भवनमा रहेको छ ।

हाल यो भवनको स्वामित्त्वको विषय सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतमा विचाराधीन मुद्दासँग जोडिएको यो भवनलाई लिएर आज वडा कार्यालयले जारी गरेको पत्रमा भने वडा कार्यालय भवन भनेरै लेखिएको छ ।

‘टोलको सांस्कृतिक सामाजिक गतिविधिसँग जोडिएको, सम्पूर्ण टोलबासीको त्वाःछेँ भवन बचाउन हामी संघर्षमा उत्रिनुपरे पनि पछि हट्नछैनौं, साथै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा यसरी पत्र काट्ने वडाध्यक्षलाई अदालतको अपहेलना सम्वन्धि मुद्दा दायर गर्ने तयारी पनि अघि बढाउँछौं’ एक स्थानीय वासिन्दाले भने ।

Categorized in समाज