स्थानीयको विरोधका बीच थायमदु त्वाःछेँ भवन भत्काइयो
SamacharDesk – बिराज | २०७९ आश्विन १४, शुक्रबार

बाङ्गेमुढाका स्थानीय वासिन्दाको विरोधका बाबजुद काठमाडौं महानगरपालिका वडा २५ कार्यालयले बाङ्गमुढास्थित त्वाःछेँ भवन भत्काएको छ । नगर प्रहरीसाथै सशस्त्र प्रहरीसमेत परिचालन गरी कामपा २५ वडा कार्यालयले डोजरले त्वाःछेँ भवन भत्काएको हो ।
विगतमा सार्वजनिक सौचालयको रुपमा प्रयोग भइरहेको उक्त स्थानमा २०३४ सालमा स्थानीय वासिन्दाले आर्थिकको साथमा जन श्रमदानसमेत गरी उक्त भवन बनाएको स्थानीय ८२ वर्षीय गुह्येरत्न शाक्यले बताउनुभयो ।
तत्कालीन २८ वडा कार्यालय समेत संचालन भएको उक्त भवनलाई अहिले २५ वडाले वडाको भनी दावी गर्दै आएको छ भने सोही स्थानमा वडा भवन बनाउने भन्दै आज डोजर ल्याई त्वाःछेँ भवन भत्काएको हो ।
स्थानीय वासिन्दाको भावनासँग जोडिएको र अहिले न्यायालयमा विचाराधीन रहेको भवनलाई जनप्रतिनिधिले यसरी जबरजस्ती भत्काउनु निकै दुर्भाग्यपूर्ण रहेको स्थानीय वासिन्दा शाक्यको भनाई हो ।
भवन बनाउँदा आर्थिक सहयोग गर्नेहरुको नामावली रहेको २०३४ सालको शिलापत्र हाल पनि सो भवनमा सुरक्षित छ । यो भवनको स्वामित्त्वको विषयमा हाल सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा छ ।
थायमदु त्वाःछेँ समितिका अध्यक्ष प्रा.रमेश श्रेष्ठले अदालतमा विचाराधीन मुद्दामा यसरी वडा कार्यालय दादागिरीमा उत्रिनु निकै दुःखद रहेको बताउनुभयो ।
‘जनप्रतिनिधिले नै यसरी अदालतको मान राख्दैन, अपहेलना गर्छ भने अब सुशासनको आश कसरी गर्नु ? हामी कानूनी बाटोमै अघि बढ्ने सोचमा त छौं तर, कानून नमान्ने वडाध्यक्षले अदालतको आदेश मान्ला र भन्ने प्रश्न पनि खडा भएको छ’ अध्यक्ष प्रा. श्रेष्ठले भने ।
कामपा २५ वडाका वडाध्यक्ष राजेश डंगोलले भने आफुलाई महानगर प्रमुख बालेन शाहबाटै उक्त भवन भत्काउन आदेश आएको र आफुले आदेश पालना गरी छाड्ने भनेका थिए ।
स्थानीय वासिन्दाले अदालतबाट जारी भएको अन्तरिम आदेशको प्रतिलिपि देखाई डोजर रोक्न खोज्दा महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले पनि आफुलाई अदालतको आदेश वा मुद्दासँग कुनै सरोकार नभएको र आफुलाई आदेश आएपछि कुनै हालतमा आदेशको पालना गर्ने बताउँदै जबरजस्ती डोजर अगाडी बढाएका थिए ।
स्थानीय वासिन्दाले वडाको यस कदमलाई लिएर टायर बालेर नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए । विरोधमा उत्रिएका स्थानीय वासिन्दाले वडाध्यक्ष डंगोलको राजीनामा माग गरेका थिए ।
प्रदर्शनकारीहरुले डोजर आतंक बन्द गर, वडाध्यक्ष राजीनामा दे, सार्वजनिक सम्पत्तिको संरक्षण गर लगायतका नारा लगाएका थिए ।
हाल त्वाःछेँ भवनको पहिलो तल्लाबाट त्वाःछेँ समिति र शहिद शुक्र क्लबको कार्यालय संचालनमा छ भने दोश्रो तल्लामा वडाका सागम्रीहरु नै भण्डारण गरिएको छ ।
वडा कार्यालयले हिजो बिहानमात्रै २४ घण्टे सूचना टाँस गरी भवन खाली गरिदिन भनेको थियो ।
आज त्वाःछेँ भवनको पहिलो तल्लासम्म भत्काइदिँदा त्यहाँ रहेको क्लब र समितिका फर्निचर लगायतका सामग्रीहरुको साथमा बाङ्गेमुढाको नारायण जात्रासँग सम्वन्धित सामग्री पनि अलपत्र अवस्थामा परेको छ ।
हाल आएर आफुहरुलाई भने ती सामग्रीको सुरक्षाको चिन्ताले सताएको टोलबासीले बताएका छन् ।
Categorized in समाज