बाङ्गेमुढामा बालेनको पुतला जलाइयो
SamacharDesk – बिराज | २०७९ आश्विन १५, शनिबार

थायमदु (बाङ्गेमुढा) टोलको त्वाःछेँ (सामुदायिक भवन) काठमाडौं महानगरपालिकाले डोजर चलाई भत्काइ दिएपछि टोलबासीले काठमाडौं महानगर प्रमुख बालेन शाहको पुतला दहन गरेका छन् ।
अदालतको रोक्का आदेशसम्म बेवास्ता गरी जबरजस्ती त्वाःछेँ भत्काएको भन्दै विरोधमा उत्रिएका टोलबासीले महानगर प्रमुख शाहको पुतला दहन गरेका हुन् ।
विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले शाहको साथै कामपा २५ वडाका वडाध्यक्ष राजेश डंगोलविरुद्ध पनि नाराबाजी गरेका थिए ।
महानगर प्रमुख शाह र वडाध्यक्ष डंगोलविरुद्ध नाराबाजी गर्दै प्रदर्शनकारीहरुले मसाल जुलुस समेत निकालेका थिए ।
प्रदर्शनकारीहरुले डोजर आतंक बन्द गर, नेवाः विरोधी होसियार, नेवाः एकता जिन्दाबाद जस्ता नारा लगाएका थिए ।
टोलबासीको भावना र काठमाडौंको विभिन्न आन्दोलनको ईतिहाससँग जोडिएको त्वाःछेँ भवन दादागिरी शैलीमा भत्काइ दिएको भन्दै उनीहरुले शाह र डंगोलको राजीनामासमेत माग गरेका छन् ।
टोलबासीले उक्त भवन टोलबासी नै मिलेर बनाएको सामुदायिक त्वाःछेँ दावी गर्दै आएको छ भने काठमाडौं महानगरपालिकाले भने उक्त भवन वडाको सम्पत्ति भनी दावी गर्दै आएको छ । भवनको स्वामित्त्वको विषयमा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
कामपा २५ वडा कार्यालयले भने बिहिबारका दिन २४ घण्टे अल्टिमेटम दिइ भवन खालि गरिदिन सूचना जारी गर्दै शुक्रबार डोजर लगाएर भत्काइदिएको थियो ।
महानगरले समुदायमाथि अतिक्रमण शुरू गर्याे
मलास जुलुस निकालिनु अघि थायमदु चोकमा खबरदारी सभा भएको थियो ।
सभामा बोल्दै थायमदु त्वाःछेँ समितिका अध्यक्ष प्रा. रमेश श्रेष्ठले टोलबासीले आर्थिक साथमा श्रमदानसमेत गरेर बनाएको भवनलाई वडाले जबरजस्ती भत्काइदिएको बताउनुभयो ।
टोलबासी मिलेर बनाएको त्वाःछेँलाई बिना कुनै आधार र प्रमाण वडाले वडा भवन भनी सामुदायिक सम्पत्ति कब्जा गर्न खोजेको प्रा. श्रेष्ठको भनाई थियो ।
नेपालभाषा मंकाः खलःका सदस्य रमेशमान पियाले नेपालभाषा मंकाः खलःको शुरुवात यहि त्वाःछेँ भवनबाट भएको र यहि भवनबाटै मंकाः खलःले विभिन्न आन्दोलनहरु चलाएको बताउनुभयो ।
नेवाः र विभिन्न जनजाति आन्दोलनको ईतिहाससँग जोडिएको भवन भत्काएर राज्यले नेवाःको पहिचान नै मेटाउने षडयन्त्र गरेको पियाले भन्नुभयो ।
उपत्यकाव्यापी सडक विस्तार पिडित संघर्ष समितिका अध्यक्ष सुमन सायमिले राज्य सुनियोजित ढङ्गबाटै नेवाःलाई विस्थापित गर्ने षडयन्त्रमा लागेको दावी गर्नुभयो ।
समुदायले बनाएको भवनमै यसरी डोजर चलाइनु कुनै हालतमा स्वीकार्य नहुने र भवनको पुनर्निर्माण नगरिएसम्म चुप लागेर नबस्ने सायमिले बताए ।
नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले महानगरको यो कदम समुदायमाथि नै अतिक्रमण भएको बताउनुभयो ।
‘एउटा टोललाई पर्दा अर्को टोल चुप लागेर बस्ने हो भने भोलि यहाँबाट सबै विस्थापित हुनुपर्ने दिन आउँछ । आज त्वाःछेँमा डोजर चल्दा विकास देखे भोलि आफ्नै घर पनि भत्किन्छ भनेर बुझौं’ बज्राचार्यले भने ।
भवनको इतिहास
तत्कालीन २८ वडा हाल कामपा २५ वडामा अवस्थित यो भवन रहेको स्थानमा विगतमा पाइखाना रहने गर्थ्याे । वि.सं २०३५ सालमा स्थानीय बासिन्दाले चन्दा संकलन गरेर जन श्रमदान समेत गरेर सो ठाउँमा त्वाःछेँ बनाएका थिए ।
भवनमा तत्कालीन समयको आर्थिक सहयोग र सहयोगदाताको विवरणसहितको शिलालेखसमेत रहेको छ ।
नेपालभाषा मंकाः खलःको सुरुवात पनि यहि भवनबाट भएको थियो भने पंचायतकालमा मंकाः खलःले यसै भवनबाट विभिन्न आन्दोलनहरु चलाएको छ ।
त्यसैगरी आदिवासी जनजाति महासंघको सुरुवात पनि यसै भवनबाट भएको थियो ।
तत्कालीन समयमा २८ वडा कार्यालय पनि यहि भवनमा राखिएको थियो । वडा कार्यालय संचालन गर्न स्थान नभएकोले स्थान उपलब्ध गराइदिन भन्दै त्वाःछेँ समितिलाई निवेदन दिएर वडा कार्यालय राखिएको समितिको भनाई छ ।
केशव स्थापित महानगर प्रमुख हुँदाको समयमा सो भवन वडा भवन भनी दावी गरिएको थियो ।
त्यसपछि यो भवनको स्वामित्त्वको विषय विवादित बन्यो र अदालतमै पुग्यो । जिल्ला अदालतले त्वाःछेँ समिति र वडा कार्यालय दुबैको प्रमाण नपुगेको भनेको थियो भने हाल यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
यो पनि पढ्नुहोलाः
स्थानीयको विरोधका बीच थायमदु त्वाःछेँ भवन भत्काइयो
कामपा २५ वडाले अदालतको अपहेलना गरेको बाङ्गेमुढाबासीको भनाई
Categorized in समाज