वडा दशैंको सातौं दिन आज फुलपाती
SamacharDesk | २०७९ आश्विन १६, आइतबार

घटस्थापनादेखि सुरु भएको वडा दशैंको आज सातौं दिन घरघरमा फुलपाती भित्र्याई हर्षाेल्लास्पूर्वक मनाईंदैछ ।
आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने गरिन्छ । आज हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुरुजुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहित फूलपाती भित्र्याउने गरिन्छ । वैदिक विधिपूर्वक दुर्गा आह्वान गरी पूजाआजा गरिंदै आएको दसैँघर, पूजाकोठा, विभिन्न कोत तथा शक्तिपीठहरुमा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने चलन छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । घटस्थापनाको दिन सुरु हुने नेपालीको महान् चाड दसैंको सामाजिक चहलपहल आजैका दिनदेखि थप बढ्ने गर्दर्छ । घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा आज कालरात्रिको विशेष पूजा गरिन्छ ।
काठमाडौँ उपत्यकाका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, संकटा, वज्रबाराही, दक्षिणकाली, श्वेतबाराही, धूम्रबाराही, चामुण्डा, सुन्दरीमाई लगायतमा विहानैदेखि पूजाआजा एवं बलि दिनेहरुको भिड लागेको छ ।
यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, नुवाकोटका जालपादेवी र भैरवी, स्याङ्जाको आलमदेवी, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभे्रपलाञ्चोकका नाला भगवती, पलाञ्चोक भगवती र चण्डेश्वरी, सिन्धुपाल्चोकका पलान्चोक भगवती र लिस्तीमाई, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरा देवीस्थानलगायत शक्तिपीठमा पनि पूजाआजा गर्ने भक्तजनको भिड लागेको छ ।
Categorized in संस्कृति