शताब्दी पुरुष जोशीको स्वास्थ्यमा क्रमिक सुधार
SamacharDesk | २०७९ आश्विन २७, बिहिबार

किस्ट अस्पतालमा उपचाररत शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको चिकित्सकहरुले बताएका छन् ।
१०३ वर्षीय शताव्दी पुरुष डा.सत्यमोहन जोशीलाई ललितपुरस्थित किष्ट मेडिकल तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार स्वास्थ्यमा सुधार देखिएलगत्तै आईसीयू कक्षबाट क्याविनमा सारिएको बताएको छ । क्याविनमा जोशीको सुक्ष्म निगरानीमा सघन उपचार भइरहेको अस्पतालले जनाएको छ ।
अझै केही दिन एन्टिबायोटिक्स निरन्तर दिइरहनु पर्ने अस्पतालका निर्देशक प्रा.डा सुरज बज्राचार्यले जानकारी दिनुभयो । उहाँ दोहोरो कुरा गर्न सक्ने अवस्थामा रहेको अस्पतालको भनाई छ ।
मुटु चाल सम्बन्धि समस्या र छातीमा निमोनिया संक्रमणका लागि उपचार जारी रहेको अस्पतालले जनाएको छ ।
यही असोज ७ गते आकस्मिक वार्डमा भर्ना गरिएको जोशीको उपचार क्रममा रगत परीक्षण गर्दा डेंगी संक्रमण पुष्टि भएपछि सिकिस्त हुनुभएको थियो ।
उहाँको स्वास्थ्य निरिक्षणका लागि मेडिसिन विभागको नेतृत्त्वमा अन्य विभागहरुसहित चिकित्सकहरु संलग्न रहेको पनि अस्पतालले जानकारी दिएको छ ।
Categorized in समाज