arin enterprises

आर्थिक अनियमितता गरेको भए प्रमाण देखाउन त्वाःछेँ समितिको चुनौती

SamacharDesk – बिराज | २०७९ कार्तिक ४, शुक्रबार

थायमदु (बाङ्गेमुढा) स्थित त्वाः छेँको नाममा त्वाःछेँ समितिका कसैले आर्थिक अनियमितता गरेको भए प्रमाण सार्वजनिक गर्न समितिले चुनौती दिएको छ ।

आज समितिले बाङ्गेमुढामै आयोजना गरेको छलफल कार्यक्रममा समितिका पदाधिकारीहरुले यस्तो चुनौती दिएका हुन् ।

त्वाःछेँ समितिका उपाध्यक्ष राजेश श्रेष्ठले केही व्यक्तिहरुले त्वाःछेँको नाममा दुई चार जनाले पैसा खाएको भनी भ्रामक प्रचार गर्दै हिँडेको भन्दै सके प्रमाण लिएर आउन चुनौती दिए ।

‘त्वाःछेँ समितिको सबै पैसा शुभ गणपति, मंकाः धुकू र मिलन सहकारी संस्थाको खातामा सुरक्षित छ । यो कुनै व्यक्तिले चलाएको छैन र विभिन्न सामुदायिक उद्देश्यको लागि नै खर्च गर्ने गरिएको छ’ उपाध्यक्ष श्रेष्ठले भने, ‘पैसा खाएको भन्ने हो भने प्रमाण लिएर आउनु, नभए सिमित स्वार्थ पूर्तिका लागि भ्रामक प्रचार नगर्नु ।’

उच्च अदालत पाटनले त्वाःछेँ समिति र वडा कार्यालय दुवै पक्षले त्वाःछेँ भवनमा क्षति पुग्ने कुनै काम नगर्न र भवनलाई यथास्थितीमा राख्न अन्तरिम आदेश जारी गरेको थियो ।

तर अदालतको अन्तरिम आदेशका बाबजुद हिजो काठमाडौं महानगरपालिका २५ वडाका अध्यक्ष राजेश डंगोलहरुले कामदारहरुको टोली ल्याई भवन भत्काउने प्रयास गरेका थिए । यसपछि समितिले आज स्थानीय वासिन्दाहरुलाई डाकेर छलफल कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमममा बोल्दै त्वाःछेँ समितिका अध्यक्ष प्रा.रमेश श्रेष्ठले भवन भत्काउन आएका वडाध्यक्षलाई अदालतको अन्तरिम आदेश देखाउँदा वडाध्यक्षले आफुलाई यस आदेशबारे थाहा नभएको र सर्वोच्च अदालतको आदेश लिएर आउन भनेको बताए ।

विगतमा स्थानीय निकाय जनप्रतिनिधिविहिन रहेको अवस्थामा तत्कालीन प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर राईको पालामा काठमाडौं महानगरपालिकाबाटै त्वाःछेँ भवन बनाइदिने र हालको भवनको पछाडी रहेको ४ आना जग्गामा वडा भवन बनाउने सहमति भएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

‘तत्कालीन प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर राईको पालामा सम्झौता नै भइसकेको थियो तर एकाएक एक हप्ताभित्र भवन खाली गरिदिन भन्दै वडा कार्यालयबाट पत्र आयो’ अध्यक्ष श्रेष्ठले भने ।

श्रेष्ठले थप्दै भने, ‘त्यसपछि हामी जिल्ला अदालत गयौं, जिल्ला अदालतमा दुबै पक्षको प्रमाण नपुगेको भन्दै फैसला सुनायो र पछि हामी उच्च अदालत गयौं । अहिले यो मुद्दा उच्च अदालतमा विचाराधीन छ ।’

२०४४ सालमा नापी आउँदा फिल्डबुकमा त्वाःछेँ भनेरै उल्लेख गरिएको तर ५७ सालमा आएर भवनलाई वडा अफिस भनेर लेखिएको अर्को फिल्डबुक देखिएको श्रेष्ठले बताए ।

२०३५ सालमा उक्त भवन निर्माण गर्न आर्थिक सहयोगको साथमा जन श्रमदान समेत गरेका स्थानीय ८२ वर्षीय ज्येष्ठ नागरिक गुह्यरत्न शाक्यले २०३५ सालमा भवन बन्दाको शिलापत्रले सबै यथार्थ बताइदिने दावी गरे ।

आजकै भेलाले त्वाःछेँ समितिका अध्यक्ष प्रा. श्रेष्ठको अध्यक्षतामा त्वाःछेँ बचाउ संघर्ष समितिको घोषणा गरिएको छ ।

अब तिहार लगत्तै तत्कालीन २८ वडाका विभिन्न टोलका प्रतिनिधिको साथै सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरु थप गरेर समितिलाई पूर्णता दिने बताइएको छ ।

यो पनि पढ्नुहोलाः

कामपा २५ वडाले अदालतको अपहेलना गरेको बाङ्गेमुढाबासीको भनाई

स्थानीयको विरोधका बीच थायमदु त्वाःछेँ भवन भत्काइयो

बाङ्गेमुढामा बालेनको पुतला जलाइयो

अदालतको अन्तरिम आदेशका बाबजुद महानगरबाट त्वाःछेँ भत्काउने प्रयास

Categorized in समाज